Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

माओवादी केन्द्रले महिलाहरुलाई मेयर र अध्यक्ष पदको उम्मेदवारमा प्राथमिकता दिने

काठमाडौं २९ चैत । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा हाल नगरपालिकाका उपमेयर र गाउँपालिका उपाध्यक्ष रहेका महिलालाई मेयर र अध्यक्ष पदको उम्मेदवारमा प्राथमिकता दिने नीति बनाएको हो।

पार्टीका नेता तथा केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले समावेशीकरणको सिद्धान्तअनुसार महिलाहरुलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिन लागिएको बताएका छन । उपमेयर र उपाध्यक्ष चलाएका महिलालाई मेयर र अध्यक्षमा टिकट दिनुपर्छ भन्ने माग र सुझाव धेरै आएको र त्यसमा पार्टी नेतृत्व सकारात्मक रहेको उनको भनाइ छ।

पुनले सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल गर्दा स्थानीय तहमा दुई मध्ये एक प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने संविधानको प्रावधान कार्यान्वयन नहुने हो कि भन्ने आशंका बढेको भन्दै त्यसमा आफूहरु सचेत रहेको बताए। ‘गठबन्धन गर्दा एउटा पार्टीको एक मात्र उम्मेदवार हुने अवस्थामा सबैतिर पुरुष आउने हो कि भन्ने चिन्ता छ,’ स्थानीय तह निर्वाचनमा महिला सहभागिता बढाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाउन माओवादी मुख्यालय पेरिसडाँडा पुगेका महिला अधिकारवादी संस्थाका प्रतिनिधिसँग पुनले भने, ‘त्यसलाई हामी ब्यालेन्स गर्छौं, म आफैं गठबन्धनको संयन्त्रमा छु।

नेता पुनले संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिला अनिवार्य गरेको भन्दै आफ्नो दलले त्यसलाई बढाएर कम्तिमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने नीति लिएको जनाए। सबै तहका पार्टी कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गरिएको भन्दै उनले सोही दरमा स्थानीय तहमा पनि महिलालाई नेतृत्व दिइने उल्लेख गरे।

उनले संविधानले ग्यारेन्टी गरेको ३३ प्रतिशतमा महिला र पुरुषबीच नभई महिला महिलाबीच प्रतिस्पर्धा गराउन सके परिणाम राम्रो आउने बताए। ‘३३ प्रतिशत ठाउँमा महिला महिलाबीच मात्र प्रतिस्पर्धा गराउन सकिए जो आए पनि अब्बल महिला आउँथ्यो,’ उनले भने। तर, त्यसमा कुनै एक दलमात्र तयार भएर नहुने स्ष्ट गरे।

पुनले महिला, दलित र जनजातिहरुको अधिकार पाउनुपर्ने राजनीतिक एजेण्डा आफूहरुको भएको र पछि अरु दल पनि जबर्जस्ती लतारिएर आफूहरुको एजेण्डामा सहमत हुन आएको टिप्पणी गरे।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com