Yeti Khabar

२०८२ असार १६, सोमबार - Mon Jun, 2025 -

पोखरा–मुग्लिन सडकका विद्युत् पोल एक साताभित्र हटाइने

निर्माणाधीन पोखरा–मुग्लिन राजमार्गको पश्चिम खण्डको सडक मापदण्डभित्र परेका विद्युत् पोल एक साताभित्र हटाइने भएको छ। राजमार्गको पश्चिम खण्डमा ४२४ वटा पोल हटाउन बाँकी रहेकामा कास्की जिल्लामा मात्र ३५५ छन्। विद्युत् प्राधिकरणको पोखरा तथा लेखनाथ वितरण क्षेत्रभित्र यी पोल परेका हुन्।

राजमार्ग स्तरोन्नतिका क्रममा सडकभित्र परेका विद्युत् पोल हटाउन ढिलाई हुँदा योजनाको काम प्रभावित भएको छ। विद्युत् पोलका कारणले काम प्रभावित भएपछि आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा भएको सहजीकरण बैठकमा एक साताभित्रमा विद्युत् प्राधिकरणले पोल हटाउने सहमति भएको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले बताए।

उनका अनुसार विद्युत् पोलका कारणले योजनाको काममा असर परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटसमेत यसका बारेमा चासो व्यक्त गरिएको र समाधानका लागि सहजीकरण भएको छ।

‘चार लेन सडकभित्र परेका पोल प्राधिकरणले हटाउँदै  गइरहेको छ। अब बाँकी रहेका पोलसमेत एक साताभित्रमा विस्थापित गरिसक्ने सहमति भएको छ। यसबाट काममा देखिएको प्रमुख समस्या समाधान हुनेछ,’ उनले भने।

योजनाका अनुसार कास्की खण्डस्थित चार लेन सडकभित्र पर्ने सैनिकबस्ती–विश्वविद्यालय १८ र आदर्शचोक–तालचोकका ४९ गरी ६७ पोलका कारण यस क्षेत्रमा काम अघि बढाउन समस्या भएको छ। यसैगरी डाँडाको नाकदेखि विजयपुरसम्म ९० वटा पोल नालीमा परेका छन्।

मुग्लिन–पोखरा सडकको पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्म ४१ किमी रहेको छ। यस खण्डमा हालसम्म एकतर्फी ३५ किमी सात सय मिटरमा प्रथम तहको कालोपत्र गर्ने कार्य सकिएको बताइन्छ। हालसम्म ५० दशमलव ३४ प्रतिशत भौतिक प्रगति भएको योजना कार्यालयले जनाएको छ।

‘१९ किमी खण्डमा दुईतर्फी कालोपत्र(चार लेन) तथा १६ किमी खण्डमा एकतर्फी कालोपत्र(दुई लेन) को काम सकिएको छ। आगामी असार मसान्तसम्ममा  सम्पूर्ण खण्डमा चार लेन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण व्यवसायी मोबिलाइज गरिएको छ,’ योजना प्रमुख कुँवरले भने।

मुग्लिन–पोखरा सडकको पश्चिम खण्डको म्याद गत वर्षनै सकिएपछि एक वर्ष थप गरिएको थियो। थप गरिएको समय आगामी पुस दोस्रो सातासम्म रहेको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com