Yeti Khabar

२०८१ बैशाख २३, आईतवार - Sun May, 2024 -

विश्वबहादुरको एउटै बगानमा फल्यो ७५ लाख रुपैयाँको सुन्तला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक किसान विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला ७५ लाख रुपैयाँमा बिक्री गर्नुभएको छ । उहाँले सुन्तला व्यापारी तुलबहादुर थापालाई एउटै बगानमा उत्पादित सुन्तला ७५ लाख रुपैयाँमा बिक्री गर्नुभएको हो ।

यहाँ उत्पादित सुन्तला विगत केही वर्षयता थापाले नै ठेक्कामा खरिद गर्दै आउनुभएको छ । किसान अधिकारीले भन्नुभयो, ‘ठेक्कामा बिक्री गर्दा सजिलो हुने भएकाले एकैचोटी ठेक्कामै दिन्छु । यो वर्ष ७५ लाख रुपैयाँमा सुन्तला बिक्री गरेको हुँ ।’

जिल्ला विकास समितिका पूर्वसभापति भइसक्नुभएका उहाँ सुन्तला खेतीबाट सन्तुष्ट हुनुहुन्छ । गाउँको भिरालो जमिन सदुपयोग गरी विसं २०५२ देखि व्यावसायिकरूपले सुन्तलाखेती शुरु गर्नुभएका अधिकारीले वार्षिक ६०/७० लाख रुपैयाँसम्मको सुन्तला बिक्री गर्दै आउनुभएको छ ।

उहाँको सुन्तला बगानमा एक हजार तीन सयभन्दा बढी बोट छन् । उहाँले भन्नुभयो, ‘गएको वर्ष राम्रो उत्पादन भएन । कहिलेकाहीँ समस्या आउँछ । म आफैँ पनि बिरामी भएँ, व्यवस्थापन कमजोर भयो ।’ सबैभन्दा धेरै यसै वर्ष सुन्तला उत्पादन भएको अधिकारीको भनाइ थियो । उहाँले भन्नुभयो, ‘अन्य वर्ष ६०/७० लाख रुपैयाँसम्मको सुन्तला उत्पादन भएको थियो । यो वर्ष सबैभन्दा धेरै उत्पादन भयो ।’

‘सुन्तला खेतीका लागि वार्षिक १५ लाख रुपैयाँ खर्च हुने गरेको छ’, उहाँले भन्नुभयो, ‘यो वर्ष खेताला बढी लगाउनुपरेको र मलखादको प्रयोगका कारण खर्च बढी भयो । फलेका सबै सुन्तला टिपिसकेपछि बोटमा गोडमेल गर्ने, मल हाल्ने र पिना हाल्ने काम हुन्छ ।’

अधिकारीले भन्नुभयो, ‘उमाचोक सुन्तला उत्पादनका लागि उर्बर ठाउँ हो । सम्भावना देखेरै नै यो खेतीमा लागेको हुँ । आम्दानी पनि राम्रो भइरहेको छ । यसबाट सन्तुष्ट नहुने कुरै छैन ।’

सुन्तला बिक्रीबाट भएको आम्दानीले नै छोराले इन्जिनियर र छोरीले डाक्टर पढिसकेको उहाँले सुनाउनुभयो । सुन्तला बगैँचा सुदृढीकरण, गोडमेल, मलखाद व्यवस्थापन, समयमा औषधोपचार गर्नसके सुन्तलाको दाना राम्रो, रसिलो, गुलियो र उत्पादन पनि राम्रो हुने उहाँको भनाइ छ ।

बगानसम्मै सडक जोडिएकाले ठेकेदार बगानमा नै आउने हुँदा बजारको कुनै समस्या नभएको र बिक्री हुँदैन कि भन्ने चिन्ता नभएको अधिकारी बताउनुहुन्छ ।

सुन्तला खरिद गर्ने ठेकेदार थापाले यहाँ उत्पादित सुन्तला काठमाण्डौ लगेर बिक्री गर्ने गरेको बताउनुभयो । ‘म्याग्देको खानीगाउँ, उमाचोकमा सुन्तला राम्रो भएकाले बगान नै ठेक्का लिएर खरिद गर्ने गरेको छु । यहाँ उत्पादित सुन्तलाका दाना राम्रा हुन्छन् । बजारको समस्या छैन ।’

तनहुँमा गएको वर्ष २९ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो । यहाँ उत्पादित धेरैजसो सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ । गएको वर्ष नौ हजार छ सय ४५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

तनहुँका आठ हजार पाँच सय ७० हेक्टर जमिनमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको र केन्द्रले किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । केन्द्रले चालु आर्थिक वर्षमा सुन्तला खेतीमा सहयोग गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com