Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

जलवायु परिवर्तनका कारण कर्णालीका हिमाली जिल्लामा डेंगी

काठमाण्डौ – जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम वृद्धिसँगै डेंगी बिरामी फेला परेका छन् । प्रायः तराई र भित्री मधेसका जिल्लामा हुने डेंगी सङ्क्रमण जलवायुमा आएको फेरबदलका कारण हिमाली भेगमा पनि फैलिएको हो ।

सुर्खेतमा रहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यस वर्ष हालसम्म यहाँका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पामा डेंगीका ४० बिरामी फेला परेका छन् । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सङ्क्रमण हुने गर्दछ । निर्देशनालयका नियन्त्रण स्रोत व्यक्ति एवं भेक्टर कन्ट्रोल अफिसर श्यामलाल आचार्यले लामखुट्टेको जीवनचक्रका लागि हिमाली भेग पनि अनुकूल बन्दै गएको बताउनुभयो । कतिपय फेला परेका बिरामी तराईबाटै सङ्क्रमित भएर गएका छन् भने कतिपय त्यही लामखुट्टेको टोकाइबाट सङ्क्रमित भएको पाइएको छ, उहाँले भन्नुभयो, दुई वर्षअघि नै मुगुको खत्याडमा लामखुट्टेका लार्भा भेटिनाका साथै डेंगीका बिरामीको पहिचान भएको थियो । हिमाली भेगमा लामखुट्टेको जीवनचक्र अनुकूल हुँदै गएपछि यसको सङ्क्रमण पनि बढ्दै गएको हो । हिमाली भेगमा खोला नदी किनारका बस्तीमा सङ्क्रमण देखापरेको छ ।

निर्देशनालयका अनुसार यसपटक हुम्लामा एक, डोल्पामा नौ, मुगुमा आठ र जुम्लामा २२ बिरामी फेला परेका छन् । प्रदेश अस्पतालका वरिष्ठ फिजिसियन डा केएन पौडेलले हिमाली भेगमा डेंगी सङ्क्रमण हुनुमा जलवायुमा आएको परिवर्तन मुख्य कारण रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, ुजलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका बासिन्दाको जनस्वास्थ्यमा असर परेको छ, डेंगी र मलेरियाजस्ता रोग पनि देखापरेका छन् । डेंगीका बिरामीलाई झुलभित्र राखेर उपचार गर्नुपरेको उहाँको भनाइ थियो ।

एक जिल्लाबाट अर्को जिल्लामा जाने मानव चालका कारण पनि लामखुट्टे तराईबाट पहाड–हिमालतर्फ उक्लेको बताइएको छ । स्रोतव्यक्ति आचार्यले असोज मसान्तसम्म डेंगी सार्ने लामखुट्टे सक्रिय रहने समय भएकाले सजगता अपनाउन अनुरोध गर्नुभयो । निर्देशनालयले डेंगी रोकथामका लागि विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गर्ने, लामखुट्टेको लार्भा नष्ट गर्ने, डेंगी कीट खरिद गरी स्वास्थ्य संस्थामा वितरण गर्नेजस्ता कार्यक्रमलाई निरन्तरता दिइएको जनाएको छ । कर्णाली प्रदेशमा हाल डेंगीका ४ सय ४१ बिरामी छन् । तीमध्ये सबैभन्दा बढी सुर्खेतमा छन् । यहाँ चार सय २२ मा यसपटक डेंगी सङ्क्रमण भएको थियो । गएको आर्थिक वर्षमा कर्णालीमा प्रदेश बाहिरका १४ सहित सात सय ९६ जनामा डेंगी सङ्क्रमण भएको थियो ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com