Yeti Khabar

२०८२ बैशाख २५, बिहीबार - Thu May, 2025 -

घट्यो फलफूलको कारोबार

वैशाख १५ काठमाडौं ।  यस वर्ष आमाको मुख हेर्ने दिन (मातातीर्थ औँसी) मा फलफूलको व्यापार ३० प्रतिशतले घटेको व्यवसायीले बताएका छन् । नेपाल फलफूल थोक व्यवसायी सङ्घ काठमाडौँका अनुसार गत वर्षको तुलनामा यस वर्ष फलफूलको व्यापार ३० प्रतिशतले घटेको हो । 

सो सङ्घका काठमाडौँका अध्यक्ष अमर बानियाँले विगतका वर्षको तुुलनामा यस वर्ष फलफूलको कारोबार विगतका वर्ष जस्तो नभएको बताउनुभयो । उहाँका अनुसार अघिल्ला वर्षमा औँसीका लागि भने दुई/तीन दिन पहिलेदेखि नै फलफूलको कारोबार बढ्थ्यो तर यस वर्ष त ७० प्रतिशत पनि भएन । 

विगतका वर्षमा तिहारमा जस्तै मातातीर्थ र कुशेऔँसीका बेलामा फलफूलको कारोबार हुन्थ्यो । यस वर्ष त्यस्तो नभएको बताउँदै अध्यक्ष बानियाँले कारोबार घट्नुमा एकातिर धेरै मानिसमा फलफूल सधैँ खानु पर्छ भन्ने सोच हुन थालेको र अर्कोतिर धेरै मानिसको क्रयशक्ति घटेको प्रभाव पनि हुन सक्ने अनुमान गर्नुभयो । 

यो पटक विगतका वर्षहरूमा जस्तो औँसी भनेपछि एक साताअगाडिदेखि फलफूल बजारमा भिडभाड पटक्कै नभएको उहाँको भनाइ छ । औँसीमा विशेष गरेर बढी माग हुने केरा, स्याउ, अङ्गुर (हरिया), मौसम, तरबुजा, मेवालगायत छन् । 

मूल्य सामान्य

यस पटकको औँसीमा फलफूलको भाउ अन्य दिन जस्तै सामान्य रह्यो । विगतका वर्षमा माग धेरै हुने भएकाले मूल्य पनि बढ्थ्यो । अहिले त्यस्तो भएन । माग पनि सामान्य रहेकाले मूल्य पनि सामान्य रहेको अध्यक्ष बानियाँले जानकारी दिनुभयो । 

सङ्घका अनुसार आइतबार स्याउ (फुजी) प्रतिकेजी ३२५ रुपियाँ, स्याउ (झोले) प्रतिकेजी २४० रुपियाँ, केरा प्रतिदर्जन १५० रुपियाँ, अङ्गुर (हरियो) प्रतिकेजी १९० रुपियाँ, अङ्गुर (कालो) प्रतिकेजी २४० रुपियाँ, मौसम प्रतिकेजी १९० रुपियाँ र मेवा (नेपाली) प्रतिकेजी ४५ रुपियाँ, मेला (भारतीय) प्रतिकेजी ११० रुपियाँमा कारोबार भएको छ ।

फलफूलमा भारतमै निर्भर

नेपालमा भित्रिने ९५ प्रतिशत फलफूल भारतकै निर्भर हुनुपरेको छ । सङ्घका अनुसार यो मौसममा तरबुजाबाहेकका सबै फलफूल भारतीय बजारबाट आएका हुन् । विगतका वर्षमा केराको मागको आधा माग पूर्ति हुन्थ्यो यस वर्ष बजारमा आउने सबै भारतको मात्रै भएको अध्यक्ष बानियाँको अनुभव छ । तरबुजा भने नेपाली बजारको मागको ७० प्रतिशत नेपालमै उत्पादन भएको हो । नेपालमा उत्पादन भएको तरबुजा पनि भारतकै व्यापारीले तराईतिर जग्गा भाडा लिएर खेती गर्दै आएका छन् । 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com