Yeti Khabar

२०८१ बैशाख ७, शुक्रबार - Fri Apr, 2024 -

२२ वर्षअघि बितेकालाई पक्राउ गर्न प्रहरी उनको घर पुगेपछि…

सोमबार अपरान्ह ४ बजेतिर दोलखा बैतेश्वर गाउँपालिका-७ मार्बुस्थित रोशन रिमालको घरमा प्रहरी पुग्यो।
दुई जना प्रहरी उनको घरमा पुग्दा उनकी आमा ईश्वरी र हजुरआमा धनकुमारीमात्रै थिए। रोशन भने काठमाडौंमा छन्।

त्यसरी घरमा आउनुको कारणबारे उनीहरूले प्रहरीसँग सोध्दा मान्छे समाउन आएको भनेर जवाफ फर्काए।
कसलाई पक्राउ गर्न आएको र किन? भन्ने ती प्रहरीले परिवारलाई जानकारी दिएनन्। उक्त खबरपछि आत्तिएका उनीहरूले आफ्ना छोरा (रोशन) लाई फोन गरी जानकारी गराए। यता प्रहरी टोली भने कसैलाई पक्राउ नगरी फर्कियो।

‘लिन आएको भन्ने जानकारी दिएपछि मलाई र मेरा काकालाई घरबाट फोन आयो। म काठमाडौंमै थिएँ। नवीन काका भने दोलखा जाँदै हुनुहुन्थ्यो,’ रोशनले भने, ‘समाउन आएको मात्रै भनेछन्। कसलाई कुन मुद्दामा केही भनेनन्।’

साँझपख नवीन पनि दोलखा पुगे।

प्रहरी घरमा आउनुको कारणबारे अनभिज्ञ रहेका नवीनले कसलाई पक्राउ गर्न आएको भन्नेबारे जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी गंगाप्रसाद पौडेलसँग सोधे।

डिएसपी पौडेलले पनि आफूलाई यसबारे जानकारी नभएको बताउँदै उनलाई नजिकैको चौकी इन्चार्जको नम्बर दिए।
ती इन्चार्जले पनि सुरूमा किन र कसलाई पक्राउ गर्न प्रहरी पुगेको हो भन्नेबारे जानकारी दिएनन्।

तर केहीबेरपछि उनैले नवीनलाई फोन गरी सोधे, ‘केशवराज रिमाल तपाईंको को पर्छ ?
केशवराज रिमाल नवीनका दाइ हुन्। रोशन भने केशवराजका छोरा।

नवीनले प्रहरीलाई केशवराज आफ्नो दाइ भएको जानकारी गराए। दाइविरूद्धको पक्राउ पुर्जी रहेको थाहा पाएपछि उनले किन भनेर प्रश्न गरे।
ती प्रहरीले केशवराजविरूद्ध हातहतियार तथा विष्फोटक पदार्थको मुद्दा रहेको र समाएर अदालतमा हाजिर गराउने आदेश भएको जानकारी गराए।

केशवराज भनिने राजस्वराज रिमाल ‘हेमन्त’ प्रहरीको फरार सूचीमा रहेछन्। जिल्ला अदालत दोलखाले फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्न पठाएको सूचीमा उनको पनि नाम रहेछ।
रोशनका अनुसार केशवराजको मृत्यु २०५७ साल मंसिर १ गते ओखलढुंगामा भएको थियो। उनी सशस्त्र द्वन्द्वकालमा बितेका थिए।

‘उहाँ बित्नुभएको नै २२ वर्ष भइसक्यो। बितेको ६ वर्षपछि उनीविरूद्ध मुद्दा दायर भएको रहेछ,’ उनले भने, ‘कहिले काठमाडौंको मुद्दा भन्छ। कहिले ओखलढुंगाको मुद्दा भन्छ। हामीलाई प्रष्टसँग केही भनिएको छैन।’

उनीविरूद्ध विष्फोटक पदार्थको मुद्दामा २०६३ साल जेठ २८ गते मुद्दा दर्ता भएको थियो।
तर यसरी बितेको २२ वर्षपछि आफ्नो घरमा आएपछि रोशनको परिवार आक्रोशित छन्। उनको परिवारमा केशवराजसहित तीन जनाले द्वन्द्वकालमा ज्यान गुमाएका थिए। उनका काका केशरराज र काकी लक्ष्मी पराजुली बितेको रोशनले बताए।

यस्तै अदालतलाई पनि मृत्यु भएको खबर परिवारले नै दिनुपर्ने जानकारी पनि चित्त नबुझेको उनी बताउँछन्।
‘अहिले यही पार्टीका अध्यक्ष प्रधानमन्त्री भएका छन्। उनकै पछि लागेका मान्छेलाई पक्राउ गर्न २२ वर्षपछि प्रहरी घर पुग्यो। यो एकदम नमज्जाको विषय भयो,’ उनले भने, ‘अदालतलाई जानकारी गराउनू भनेर पनि हामीलाई नै भनियो।’
उनीहरूले सामाजिक सञ्जालमार्फत् पनि असन्तुष्टि व्यक्त गरेका छन्।
जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाप्रसाद पौडेलले पनि अदालतको सूचीअनुसार प्रहरी पक्राउ गर्न पुगेको बताए।

‘देशभरी नै फैसला कार्यान्वयन अन्तर्गत हरेक अदालतमा फरार मुद्दा हेर्ने शाखा हुन्छ। हामीलाई त्यहाँबाट फरार रहेका व्यक्तिहरूको सूची पठाइएको हुन्छ,’ उनले भने, ‘त्यही बुझ्न प्रहरीको टोली जान्छ। त्यहीक्रममा प्रहरी पुग्दा बितिसकेको भन्ने जानकारी पायौं।’

यस्तै फैसला कार्यान्वयनको क्रममा फरार रहेका व्यक्तिको विवरण अदालतमा अद्यावधिक नभएकाले पनि यस्तो हुने गरेको उनी बताउँछन्।
यसअघि पनि यस्ता घटनाहरू दोहोरिसकेको पनि उनले जानकारी दिए। मुद्दा दर्ता भएकैबेलामा परिवारसँग सम्पर्क हुननसकेका कारणले पनि यस्तो भएको हुनसक्ने उनले बताए।

‘मुद्दा धेरै पुरानो रहेछ। दर्ता हुँदा नै प्रहरीले सम्पर्क गर्नुपर्ने हो। तर त्योबेला सम्पर्क नभएकाले फरारमा राखेको हुनुपर्छ,’ उनले भने, ‘लामो समय फरार रहिसकेको भनेर अहिले पत्र पठाउँदा बितेको भनेर जानकारी आएको हो।’
यसबारे अदालतलाई जानकारी गराएपछि फरार सूचीबाट हटाइने उनले बताए। यसबारे भने मृतक परिवारले नै जानकारी गराउनुपर्ने उनले बताए। सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com