Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

एउटा झुलले खुसी ल्यायो दलित बस्तीकी दुखीलाई

whatsapp sharing button

सिराहा । लामखुट्टेले लहानमा कतिसम्म सताएको छ, त्यसको पीडा यहाँका दलित तथा विपन्न समुदायले भोगेका छन् । बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्यामा रहेका उनीहरू झुलबिनै रात बिताउन बाध्य छन् । 

चरम गरिबीमा रहेकी  लहान नगरपालिका–१५ की दुखी सदाय मङ्गलबार एकाएक हर्षित भइन्– कारण थियो नगरपालिकाले उनलाई निःशुल्क प्रदान गरेको झुल । “बिहान–बेलुका छाक टार्ने टुङ्गो छैन, कहाँबाट झुल किन्न सक्नु र हजुर, दिनभरि ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकी छु । एकदिन काम नगरे भोकै बस्नुपर्ने हुन्छ”, आफ्नो दुःख बिसाउँदै उनले भनिन् ।

सोही वडाकी ललितदेवी सदायले पनि झुल प्राप्त गरेपछि हर्ष प्रकट गर्दै भनिन्, “हामी गरिबका लागि पनि सरकार रहेछ । मेयरसा’बलाई धेरै  धन्यवाद ।” गर्मीयाम सुरु भएसँगै लामखुट्टेबाट नगरवासीलाई जोगाउन ललितदेवी, दुखी सदायजस्तै यहाँका दलित तथा विपन्न समुदायका परिवारलाई झुल वितरण अभियान नगरपालिकाले सुरु गरेको छ । मङ्गलबार वडा नं १५ ढोढ्नाबाट दुई सय ७५ दलित तथा विपन्नलाई झुल वितरण गरिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।

‘एक घर, एक झुल’ अभियान सञ्चालन गरी नगरपालिकाभित्रका गरिब, मजदुर तथा विपन्न परिवारलाई मलेरिया, डेङ्गुलगायत अन्य प्राणघातक रोगबाट बचाउन आफू लागिपरेको नगरप्रमुख चौधरीले बताए । “गर्मी र वर्षातको मौसम सुरु भएपछि लामखुट्टेको प्रभाव बढेको छ । उनीहरूलाई बिरामी हुनबाट जोगाउन नगरपालिकाको तर्फबाट झुल वितरण गरेका हौँ”, उनले भने, “एउटा झुल पर्याप्त नभए पनि समुदायमा लामखुट्टेको टोकाइबाट लाग्ने प्राणघातक रोगबाट बच्न झुल लगाउनुपर्छ भन्ने चेतना जागृत हुनेछ । स्थानीयको मागअनुसार नै झुल वितरण गरिएको हो ।”

नगरप्रमुख चौधरीका अनुसार नगरका २४ वटै वडाका गरिब, विपन्न र दलित परिवारलाई पालैपालो झुल वितरण गरिने छ । वडा सदस्य तथा नगरपालिका न्यायिक समितिको सदस्य रामकुमारी दासले झुल वितरण अभियानले दलित समुदायका बालबच्चा तथा महिलालाई सुरक्षित राख्न मद्दत पुग्ने बताए । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com