Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

‘चुरोट, सुर्तीको लत छुटाउन अब वीर अस्पताल जाऔँ’

काठमाण्डाै – के तपाईँ चुरोट, सुर्ती खैनीलगायत सुर्तीजन्य पदार्थको लत छुटाउन चाहनुहुन्छ ? यदि हो भने वीर अस्पतालले चुरोट, खैनीको लत छुटाउनका लागि उपचार सेवा सञ्चालन गरेको छ । 

अस्पतालले विश्वभर नै विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ उपचार पद्धति सुरु गरेको छ । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले चुरोट, खैनी, सुर्तीको कुलतमा फसेका लागि छुटाउनका लागि ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ सुरु गरिएको जानकारी दिनुभयो । 

थेरापीमा चुरोट सुर्ती खैनीको लतमा फसेकालाई छुटाउनका लागि निकोटिन चुइगम दिइन्छ र त्यही चुइगमको सहयोगले लत छुटाउने उहाँले बताउनुभयो । थेरापीमा चुरोट, खैनी र सुर्तीको सट्टा मानिसलाई निकोटिन चुइगम दिइन्छ । ‘मानिसले कति चुरोट सुर्ती खान्छ । त्यहीअनुसार मात्रामा निकोटिन चुइगम दिइन्छ’, उहाँले भन्नुभयो, ‘चुइगममा निकोटिन हुन्छ । मानिसलाई लत लगाउने काम निकोटिनले गर्दछ । त्यही लत हटाउनका लागि मानिसलाई चुइगम दिइन्छ ।’

उहाँले मानिसमा इच्छाशक्ति भएपछि चिकित्सको परामर्शमा लत छुटाउने व्यक्तिलाई विस्तार निकोटिन चुइगमको माध्यमबाट लत छुटाउन सकिने बताउनुभयो । 

‘चुरोट, सुर्ती र खैनीको सट्टा चुइगम खान दिइन्छ । चुइगमले लत केही हदसम्म घटाउँछ । अनि बिस्तारै ती मानिसलाई चुइगमको कारणले चुरोट, सुर्ती र खैनी खाऊ, खाऊ भन्ने बानी हराउँदै जान्छ’, उहाँले भन्नुभयो, ‘अनि बिस्तार मानिसको लत हटाउन सकिन्छ ।’ अस्पतालले थेरापीमा दन्त विभाग, क्यान्सर विभाग र मेडिसिन विभागका चिकित्सकको समन्वयमा लत छुटाइने गरिन्छ ।

दन्त विभागमा सुर्ती खाएको थाहा हुने गर्दछ । क्यान्सर विभागमा बिरामीले चुरोट खाने गरेको थाहा हुन्छ । र मेडिसिन विभागमा चुरोटले गर्दा बिरामीलाई दम भएको हुन्छ । ती विभागले समन्वयमा अस्पतालले सुर्तीजन्य पदार्थको लत छुटाउन थालेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अस्पताललाई सुर्तीजन्य पदार्थको लत हटाउनका लागि ४५ हजार निकोटिन चुइगम उपलब्ध गराएको छ । 

निकोटिन चुइगम चिकित्सकले दिइसकेपछि निश्चित अवधिपछि पुनः अस्पतालमा बोलाएर बिरामीको अवस्था हेरेर चुइमग खान फेरि दिइने उहाँले बताउनुभयो । यसैगरी अस्पतालमा सुर्तीजन्य पदार्थ कति खाइरहेको छ त्यसको आधारमा पनि लत छुटाउनका लागि परामर्श सेवा पनि उपलब्ध गराइएको अस्पतालका निर्देशक डा पौडेलले जानकारी दिनुभयो ।

अस्पतालले क्यान्सर विभागमा परार्मशका लागि छुट्टै कोठाको व्यवस्था गरेको छ । सुर्तीजन्य पदार्थको खाएका कारण नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसको ज्यानजाने गरेकाे छ । सुर्तीजन्य पदार्थ खाँदा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटु रोग, क्यान्सर रोग, दीर्घ रोगलगायतका समस्या देखिने गर्दछ ।  

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् गरेको सर्वेक्षणमा नेपालमा २८ दशमलव ९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पाइएको छ । तीमध्ये ४८ दशमलव ३ प्रतिशत पुरुष र ११ दशमलव ६ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् ।  डब्ल्यूएचओको सन् २०२२ को तथ्याङ्कअनुसार विश्वमा २२ दशमलव ३ प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । सुर्तीजन्य पदार्थको प्रयोग महिलाभन्दा पुरुषमा बढी हुने गरेको छ । महिलाको ७ दशमलव ८ प्रतिशत र पुरुषमा ३६ दशमलव ७ प्रतिशत रहेको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com