Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

आईपीएलमा आज : नौ वर्षपछि घरेलु मैदानमा कोलकातालाई हराउने धुनमा बैंगलुरु

sharethis sharing button

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १९ औँ संस्करणमा शुक्रबार रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबिच खेल हुनेछ । जारी सिजनको आईपीएलमा यो १० औँ खेल हो ।

रोयल च्यालेन्जर्स बैंगलुरुले तेस्रो र कोलकाता नाइट राइडर्सले आफ्नो दोस्रो खेल खेल्न लागेको हो । यसअघि बैंगलुरु आफ्नो पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग ६ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा बैंगलुरुले पञ्जाब किङ्सलाई चार विकेटले हराएको थियो । 

कोलकाता नाइट राइडर्स भने आफ्नो पहिलो खेलमा विजयी भएको थियो । कोलकाताले आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादमाथि चार रनको रोमाञ्चक जित हासिल गरेको थियो । उक्त खेल कोलकाताको घरेलु रंगशालामा खेलिएको थियो । 

बैंगलुरु र कोलकाताबिचको खेल एम. चिन्नास्वामी स्टेडियममा खेलिने छ । यो बैंगलुरुको घरेलु मैदान हो । खेल नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ । बैंगलुरुले पछिल्लो नौ वर्षयता घरेलु मैदानमा कोलकातालाई हराउन सकेको छैन । 

पछिल्लो पटक सन् २०१५ मा बैंगलुरुले आफ्नो घरेलु मैदानमा कोलकातालाई हराएको थियो । त्यसयता बैंगलुरु र कोलकाताबिच एम। चिन्नास्वामी स्टेडियममा पाँच खेल खेलिएको छ । तर, पाँचवटै खेलमा कोलकाताले बैंगलुरुलाई हराएको छ । 
००
हेड टु हेडमा कोलकाता अगाडि

इन्डियन प्रिमियर लिगमा हालसम्म बैंगलुरु र कोलकाताबिच कुल ३२ खेल खेलिएको छ । त्यसमध्ये १८ खेलमा कोलकाता विजयी भएको छ । बाँकी १४ खेलमा भने बैंगलुरुले कोलकातालाई हराएको छ ।

यस आधारमा हेड टु हेडमा बैंगलुरुभन्दा कोलकाता अगाडि देखिन्छ । बैंगलुरुको घरेलु मैदानमा भने यी दुई टोलीबिच हालसम्म १३ खेल खेलिएको छ । त्यसमध्ये सात खेलमा कोलकाता र ६ खेलमा बैंगलुरु विजयी भएका छन् । 
००
बैंगलुरुका विराटको नाममा सर्वाधिक रन

इन्डियन प्रिमियर लिगको जारी सिजनमा विराट कोहली रोयल च्यालेन्जर्स बैंगलुरुका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । प्रभावशाली ब्याट्सम्यान विराटले यसअघि खेलिएको दुई खेलमा कुल ९८ रन बनाइसकेका छन् ।  

यस क्रममा विराटले एक अर्धशतक पनि प्रहार गरेका छन् । जारी सिजनको आईपीएलमा बैंगलुरुका लागि सर्वाधिक विकेट लिने बलर भने ग्लेन म्याक्सवेल, मोहम्मद सिराज र क्यामरुन ग्रिन हुन् । यी तीनै बलरले यसअघि खेलिएको खेलमा दुई–दुई विकेट लिएका छन् । 
००
कोलकाताका लागि रसेलको सर्वाधिक रन

जारी सिजनको आईपीएलमा आन्द्रे रसेल कोलकाता नाइट राइडर्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले यसअघि खेलिएको सनराइजर्स हैदराबादविरुद्धको खेलमा अविजित ६४ रन बनाएका थिए । 

उक्त खेलमा कोलकाताका लागि ओपनर ब्याट्सम्यान फिल साल्टले पनि ५४ रनको योगदान गरेका थिए । कोलकाताका लागि सर्वाधिक विकेट लिने बलर भने हर्षित राणा हुन् । उनले अघिल्लो खेलमा तीन विकेट लिएका थिए । 
००
ब्याट्सम्यानलाई सहयोग गर्ने पिच

बैंगलुरु र कोलकाताबिच खेल हुने एम. चिन्नास्वामी स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई सहयोग पुर्‍याउने प्रकृतिको देखिन्छ । त्यसैले यो स्टेडियममा उल्लेख्य रन बन्ने गरेको छ । यहाँको पिचले बलिङतर्फ स्पिनरलाई केही सहयोग पुर्‍याउने सम्भावना देखिन्छ । 

एम. चिन्नास्वामी स्टेडियममा हालसम्म आईपीएलको ८९ खेल खेलिएको छ । त्यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले ३७ खेल जितेको इतिहास छ । जवाफी ब्याटिङमा ओर्लिएको टोलीले भने ४८ खेल जितेका छन् । चार खेल भने अनिणर्ित रुपमा सकिएको छ । त्यसैले टस जित्ने टोलीले पहिले फिल्डिङको निणर्य लिन सक्ने सम्भावना देखिन्छ । 

००
छैन वर्षाको सम्भावना
बैंगलुरु र कोलकाताबिच खेल हुने दिन शुक्रबार वर्षाको कुनै सम्भावना नरहेको समाचारमा जनाइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, शुक्रबार बैंगलुरुको तापक्रम २२ देखि ३५ डिग्री सेल्सियसको बिचमा रहने छ ।

 ००
सम्भावित टोली  

रोयल च्यालेन्जर्स बैंगलुरु : फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, रजत पाटिदार, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिन, दिनेश कार्तिक (विकेटकिपर), अनुज रावत, अल्जारी जोसेफ, मयंक डागर, यश दयाल । मोहम्मद सिराज । महिपाल लोमरर (इम्प्याक्ट प्लेयर्स) ।

कोलकोता नाइट राइडर्स : श्रेयष ऐयर (कप्तान), वैंकटेश ऐयर, फिल साल्ट, रिंकु सिंह, नितिश राणा, सुनिल नरेन, आन्द्रे रसेल, रमणदीप सिंह, मिचेल स्टार्क, हर्षित राणा र वरुण चक्रवर्ती । सुयश शर्मा (इम्प्याक्ट प्लेयर्स) । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com