Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

चैतको हिउँले खुम्बु क्षेत्र सेताम्मे

८ चैत, सोलुखुम्बु । सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन् ।

चैतमा परेको हिउँले खुम्बु क्षेत्र सेताम्मे बनेको छ भने पर्यटकदेखि बालबालिका हिउँ खेलेर रमाइरहेका खुम्जुङका स्थानीय छिमी शेर्पाले बताए । उनका अनुसार खुम्बु क्षेत्रमा आठदेखि दश इन्चसम्म हिउँ जमेको छ ।

जमिन तातिएकाले केही समयमै हिउँ पग्लिएको शेर्पाले बताए । ‘पूरै खुम्बु सेताम्मे बनेको छ । यहाँ हिउँले वनजङ्गल, घर, विद्यालय सबै ढाकिएको छ । बुधबार दिउँसोदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ । विद्यार्थीको परीक्षा चलिरहेकाले केही समस्या भइरहेको छ’, उनले भने ।

हिमपातपछि किसान भने खुसी भएका छन् । यतिखेर हिमाली भेगमा आलु रोप्ने समय भएकाले जमिन रसिलो हुने खुम्जुङकी ल्हेमी शेर्पाले बताए । चैतमा हिमपात भएपछि स्थानीयदेखि पर्यटन व्यवसायीसमेत आश्चर्यमा परेका उनको भनाइ छ ।

विगतमा पुस, माघमा पर्ने हिउँ अहिले चैतमा पर्नु स्वाभाविक मान्न नसकिने नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए ।

जलवायु परिवर्तनको असरका कारण हिमाली भेगमा अस्वाभाविक प्रणाली देखिन थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । यस सिजनमा वर्षात् हुनुपर्ने भए पनि नाम्चेसहितका क्षेत्रमा पुस, माघकै झल्को दिनेगरी भारी हिमपात भएको स्थानीय साङ्गे शेर्पाले बताए । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com