Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

चन्द्रागिरिका चार वडा ‘बाल बालश्रम मुक्त वडा’ घोषणा

चन्द्रागिरि नगरपालिकाका विभिन्न चारवटा वडालाई ‘बाल बालश्रम मुक्त वडा’ घोषणा गरिएको छ। 

बालबालिकालाई श्रममा प्रयोग नगरौं, बालश्रममुक्त समाजको निर्माण गरौं’ भन्ने उद्धेश्यका साथ नगरको १५ वडामध्ये बुधबारसम्म वडा नं ३ थानकोट, वडा नं ५ किसिपिडि, वडा नं ८ मातातीर्थ र वडा नं १४ नयाँ नैकापलाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो।  

बालमैत्री नगर निर्माणमा अघि बढिरहेको नगरपालिकाले निकट भविष्यमा अन्य दुई वडालाई पनि घोषणा गर्ने तयारी गरेको जनाइएको छ। नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अनुसार बालश्रम मुक्त वडा घोषणा कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै आएको छ। 

चन्द्रागिरि –५ किसिपिडिलाई बुधबार आयोजित कार्यक्रममा बालश्रम मुक्त घोषणा गरिएको छ । उक्त वडामा रहेका पाँच जना बालबालिकामध्ये चार जनालाई परिवारमा मिलान गराइएको र एक जनालाई श्रममुक्त बनाएर घोषणा गरिएको वडाध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिए। 

सो अवसरमा नगर प्रमुख घनश्याम गिरीले बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रम मुक्त बनाउँदै लगिएको जानकारी दिए।

उनका अनुसार आगामी २०८१ सालको चैतसम्ममा नगरका सबै वडा बालश्रम मुक्त वडा घोषणा भइसक्ने छ।

यो नेपालकै बालश्रम मुक्त स्थानीय तहको सातौँ नम्बरमा चन्द्रागिरि आउने छ । अहिलेसम्म ६  स्थानीय तह बालश्रम मुक्त  घोषणा भइसकेका छन्।

बालश्रम मुक्त बनाउन बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालले सचेतनामूलक कार्यक्रम तथा तालिम प्रदान गरिरहेको समाजका सिनियर फिल्ड अधिकृत दीपेन्द्र पराजुलीले जानकारी दिए।

बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ । यस्तै बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचक पूरा गर्नुपर्ने जनाइएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com