Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

सिरहाको तरेगणामा तीन दशकपछि हाटबजार सञ्चालन

काठमाण्डाै – आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आउनुभएको थियो । लहान नगरपालिका–१६ तरेगणाका उहाँलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दुरी हप्तामा दुईपटक दुःख,कष्टले धाउनु नियमित कर्मजस्तै बनेको थियो ।

अहिले भने महतोले आफ्नो उत्पादनलाई उचित मूल्यमा गाउँकै हाटबजारमा बेच्न पाउनुभएको छ । गएकाे माघ २८ गतेबाट नगरपालिकाले आइतवार र बिहीवार गरी हप्ताको दुई दिन गाउँमै कृषि हाटबजार सञ्चालन गरेपछि महतोजस्तै यहाँका अन्य व्यावसायिक किसान यतिबेला खुसी भएका छन्।

‘हामीलाई लहान बजारसम्म तरकारी बोकेर धाउन सास्ती थियो । कहिले अटोरिक्सा नपाउने त कहिले के समस्या,’ किसान महतोले भन्नुभयो, ‘यो हाटबजार सञ्चालनसँगै हाम्रो उत्पादन यही बिक्रीवितरण गर्न पाएका छौँ । हामी एकदमै उत्साहित भएका छौँ ।’ यतिखेरै तरकारी किन्ने ग्राहक आइपुग्छन् । तीन किलो काउली जोखिसकेपछि प्रफुल्लित हुँदै महतोले भन्नुभयो, ‘देख्नुभयो नि मलाई बोल्ने फुर्सद पनि हुन्न । अझ साँझ पर्दै गएपछि यहाँ तरकारी खरिद बिक्री गर्नेको भिड हुँदै जान्छ ।’

स्थानीयका अनुसार विसं २०४६/०४७ सम्म त्यही ठाउँमा ठूलो हाटबजार लाग्ने गरेको थियो । तरेगना (गाईघाट)मा लाग्ने हटिया भर्नलाई उदयपुरको नेपालटारबाट चुरेपहाड छिचोलेर स्थानीय उत्पादन आलु, काउली, रिठ्ठा, तेजपत्ता, सुन्तलालगायतका तरकारी तथा फलफूल खरिद बिक्री गर्न मानिस आउने गर्दथे ।

तत्कालीन समयमा नेपालटार–गाईघाट सडक सञ्जालमा जोडिएको थिएन । त्यसकारण नजिक पर्ने हटिया भएकाले मानिसका ताँती लागेर हटिया आउनेजाने गरेको स्थानीय १६ नम्बर वडाका वडाध्यक्ष गडुलबहादुर जर्घामगरले बताउनुभयो । उहाँका अनुसार तत्कालीन समयमा छिमेकी देश भारतबाट समेत भरिया लिएर व्यापारी त्यस हटियामा आउनेजाने गरेका थिए ।

गाउँबाट ल्याइएका कृषि सामग्री खरिदबिक्रीले किसान तथा उपभोक्ताको सिधा सम्पर्क हुने र किसानले उचित मूल्य पाउने हुँदा यहाँका साना किसानको आर्थिक जीविकोपार्जनमा टेवा पुग्ने विश्वास अध्यक्ष मगरले गर्नुभयो ।

हाटबजार सञ्चालनमा आएपछि आफ्नो खाजा तथा किराना पसलमा चहलपहल पनि ह्वात्तै बढेर व्यापार वृद्धि भएको बताउनुहुन्छ रक्टु साह । तर हाटबजार सञ्चालनपछि नगरपालिकाले खानेपानी र सार्वजनिक शौचालयको व्यवस्था नगरिदिएकामा उहाँको गुनासो छ । गुनासो सम्बोधन गर्न नगरपालिकासमक्ष पहल गरिएकाले चाँडै सामाधान हुने आश्वासन पाएको वडा सदस्य राधेश्याम चौधरीले जानकारी दिनुभयो ।

लोप भइसकेको हाटबजारलाई नगरपालिकाले पुनः सञ्चालन गरी किसान र उपभोक्ताबीच कृषि सामग्री खरिद–बिक्री गरी आर्थिक उपार्जन गर्ने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याइएको नगरप्रमुख महेश चौधरीले बताउनुभयो ।

हाटबजारको विस्तार र संरक्षणमा आफूहरू लागिपरेको भन्दै मेयर चौधरीले स्थानीय कृषिजन्य वस्तुको बजारीकरण गर्न हाटबजारले निकै सघाउ पुर्‍याएकाले केही महिनाभित्रै नगरपालिकाको अन्य वडामा पनि थप हाटबजार सञ्चालन ल्याउनका लागि सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिनुभयो ।

तीन दशकभन्दा लामो समयपछि गाउँमै पुनः हाटबजार सञ्चालनपछि स्थानीय उत्पादनले बजार पाउँदा किसान आर्थिकरूपले सबल र आत्मनिर्भरमात्रै होइन उनीहरूलाई मेहनती र उद्यमशील पनि बनाएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com