Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

ललितले गरे नामिबियाका दुवै ओपनरलाई आउट

sharethis sharing button

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नामिबियाले दुवै ओपनर गुमाएको छ।

नेपालका लागि दुवै ओपनरको विकेट ललितनारायण राजवंशीले लिएका छन्। 

ओपनिङ ब्याटर निकोलास डेभिनलाई नेपालका ललितनारायण राजवंशीले १५ रनमा कुशल भुर्तेलबाट क्याच गराए। यस्तै दोस्रो विकेटको रुपमा ललितले ओपनर माइकल भानलाई २३ रनमा आउट गरे।

त्यतिबेला नामिबियाले १३.१ ओभरमा २ विकेटको क्षतिमा ५४ रन जोडेको थियो।

घरेलु मैदानमा न्यून स्कोर

घरेलु मैदानमा खेलिएको एकदिवसीय खेलमा नेपालले अहिलेसम्मकै न्यून स्कोर बनाएको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाविरुद्धको खेलमा नेपाल १३२ रनमा अलआउट भयो।

नेपालले घरेलु मैदानमा पहिलो पटक १५० रन पनि कटाउन नसकेको हो।

यसअघि घरेलु मैदानमा नेपालको न्यून स्कोर १७९ रन थियो।

नेपालले सन् २०२२ मा कीर्तिपुरमा युएईविरुद्ध ९ विकेटको क्षतिमा १७९ रन जोडेको थियो। यस्तै २०२१ मा ओमानसँग पनि कीर्तिपुरमा नेपाल १७९ रनमै अलआउट भएको थियो। यी दुवै स्कोर नेपालले दोस्रो इनिङ्ग्समा बनाएको थियो।

बिहीबार १३२ रनमा अलआउट भएको नेपालको यो एकदिवसीय खेलमा आठौं न्यून स्कोर हो। नेपालको एकदिवसीय खेलमा न्यून स्कोर १०३ रन हो। नेपाल २०२२ मा युएईसँग १०३ रनमा अलआउट भएको थियो।

नेपालको खराब ब्याटिङ

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १३२ रनमा अलआउट भयो।

खराब सुरूवात गरेको नेपालले पहिलो बलमै विकेट गुमाएको थियो भने १० ओभरको पावरप्लेमा सुरुवाती चार विकेट गुमाउँदा २५ रन मात्र जोड्न सकेको थियो। सुरुवाती चार ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पहिलो दश ओभरमा नामिबियाका तीव्र गतिका बलरद्वय रुबेन ट्रम्पलम्यान र ज्याक ब्रासेलले उत्कृष्ट बलिङ गर्दै नेपाली ब्याटरलाई दबाबमा राखेका थिए।

पहिलो बलमै कुशल भुर्तेललाई ट्रम्पलम्यानले स्लिपमा जेजे स्मिथबाट क्याच गराए। कुशल रोयल डक भएपछि ब्याटिङमा आएका अनिल साह पनि ८ रनमा आउट भए। तेस्रो ओभरमा अनिल पनि ट्रम्पलम्यानकै एलबिडब्लूको धरापमा परे। अनिलले ६ बलमा २ चौका हिर्काए। 

चौथो ओभरमा आसिफ शेख ४ रनमै आउट भए। आसिफलाई ज्याक ब्रासेलले जेजे स्मिथबाटै क्याच गराए। दशौं ‌ओभरमा कप्तान रोहित पौडेललाई ब्रासेलले बोल्ड गरे। रोहितले १३ बल खेल्दा १ रन मात्र जोड्न सके।

त्यसपछि नेपालले केही रन बढाए पनि नामिबियाका बलरले कसिलो बलिङ गरेका थिए। २० ‍ओभरसम्म टिकेका कुशल मल्ल पाँचौ विकेटको रुपमा १५ रनमा आउट भए। २२ बलमा १ चौका र १ छक्का प्रहार गरेका कुशललाई नामिबियाका जेराल्ड इरासमसले क्याच गराएका थिए। दुई ‌ओभरपछि सोमपाल कामी २ रनमा इरामसकै बलमा क्याच भए।

६ विकेट जादासम्म मैदानमा टिकेका भीम सार्कीले जोडेको ४४ रन नेपालका लागि महत्वपूर्ण सावित भयो। ८६ बलमा २ चौका र १ छक्का प्रहार गरेका भीमलाई ट्रम्पलम्यानले नै एलबिडब्लूको धरापमा परेका थिए।  

गुल्सन झा पनि धेरै बेर मैदानमा टिक्न सकेनन्। उनी ३२औं ओभरमा २१ रन बनाएर खेलिरहदा इरासमसबाट बोल्ड भएका थिए।  पवन सर्राफ १२ रनमा जान निकोलको बलमा इरासमसबाट क्याच भएपछि नेपालको आसा सकिएको थियो। करण केसीले अन्तिम विकेट रुपमा आउट हुनुअघि १६ रन जोडे। 

बलिङमा नामिबियाका इरासमसले ५ विकेट लिए। उनले ८.१ ओभरमा २८ रन मात्र दिए। ट्रम्पलम्यान र ब्रासेलले २-२ विकेट लिए। सेतोपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com