Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

जानकारी नदिई मूल्य घटाएको भन्दै पम्पहरूले रोके पेट्रोल बिक्री

२९ असोज, काठमाडौं । सोमवार देशभरका सडकमा सवारीसाधन चलाइरहेका यात्रुहरू इन्धन सकिएपछि भर्न पेट्रोल पम्प छिर्दा तेल हाल्न पाएनन् । देशभरका अधिकांश पम्पमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएको थियो । नेपाल आयल निगमले नियमित रूपमा आपूर्ति गरिरहेकोमा किन पम्पहरूमा पेट्रोल सकियो त ?

यसको खास कारण अर्कै छ । आइतबार साँझ नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाउने निर्णय गर्‍यो । निगमले डिजेलको मूल्य लिटरमा ५ र पेट्रोलको मूल्य लिटरमै ११ रूपैयाँले घटाउने निर्णय गरेको थियो ।

तर, काठमाडौं उपत्यकाकासहित देशैभरका पम्पहरूले आफूहरूलाई ‘जानकारी नै नदिई’ एक्कासी मूल्य घटाएको भन्दै निगमलाई दबाब दिन पेट्रोल बिक्री रोकेका हुन् । अनलाइनखबरले काठमाडौं उपत्यका, नवलपरासी, मकवानपुरलगायत जिल्लाका करिब एक दर्जन पेट्रोल पम्पहरूसँग कुरा गर्दा एकैपटक प्रतिलिटर ११ रूपैयाँले पेट्रोलको भाउ घटाइएकाले विक्रेताहरूबीचको अनौपचारिक सहमतिअनुरूप बिक्री रोकेको बताएका छन् ।

काठमाडौं स्युचाटारका सुदीप श्रेष्ठ टेकुमा रहेको कनक पेट्रोल पम्पमा पेट्रोल हाल्न छिरे र तर पम्पमा पेट्रोल नभएको सूचना टाँसिएको थियो । ‘अन्त त परको कुरा नेपाल आयल निगमको केन्द्रीय कार्यालयको २० मिटर अगाडिको कनक पेट्रोल पम्पले समेत पेट्रोल बिक्री गरेन,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

हेटौंडाका टिकाराम लामाले पनि पेट्रोल किन्न नपाएको बताए । तेल भर्न पम्प पुग्दा ताला लागेको भन्दै उनले फेसबुकमा लेखेका छन् ‘सरकारले पेट्रोलको भाउ घटाउने पेट्रोल पम्पवाला पम्प बन्द गर्ने । हामी जनता जताबाट पनि मर्ने,’ लामा लेख्छन् ‘हेटौड़ा सबै प्रेटोल पम्प बन्द छ । अब यसको जिम्मेवारी कसले लिने ? सम्बन्धित निकायको ध्यान कता छ ? कालाबजारी गर्नेलाई कस्ले तह लगाउने ?’

भक्तपुरका राहुलविक्रम साहीले पनि सोमबार भक्तपुर क्षेत्रमा पेट्रोल किन्न कठिन भएको बताए । विभिन्न ठाउँहा चहार्दा चहार्दै सूर्य बिनायकमा लामो लाइन लागेर तेल भरेको उनले बताए ।

उता गण्डकी प्रदेशमा पनि यस्तै भएको पाखराका स्थानीय दिपेन्द्र अधिकारीले बताए । बुद्धचोकबाट हेम्जा पुग्दा पनि तेल नपाइएको भन्दै उनले नेपाल आयल निगमसँग आक्रोश पोखे । पूर्वका उदयपुरदेखि पश्चिमको नवलपरासीसम्मका स्थानीयहरूले सोमबार पेट्रोल नपाएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।\

पेट्रोलियम डिलर्स एसोशिएसनका बागमती प्रदेश अध्यक्ष अच्युत खड्काले निगमले अप्रत्यशित रूपमा मूल्य समायोजन गरेर पम्पहरूलाई घाटा लगाएको बताए । त्यही कारण पम्पहरू बन्द भएको विषयलाई खड्काले अस्वीकार गरेनन् । उनले भने, ‘दशैं तिहारमा अब मूल्य घट्दैन भनेर निगमले भनेको थियो,’ उनले थपे ‘तर, हिजो एक्कासी मूल्य घटाइयो । मलाई मात्रै २ लाख ६० हजार रूपैयाँ घाटा लागेको छ ।’ तर, खड्काले आफूहरूले आपूर्ति व्यवस्थामा खलल नपुर्‍याएको दाबी पनि गरे ।

देशभरका १६ सय पेट्रोल पम्प सञ्चालक व्यवसायीहरूको छाता संगठन एसोशिएसनका अध्यक्ष एवम् नेपाली कांग्रेसका नेता लिलेन्द्र प्रधानले पेट्रोलको बिक्री नरोकेको दाबी गरे ।

‘आयल निगमले मूल्य घटाएको विषयलाई लिएर इन्धनको बिक्री रोक्ने भन्ने हुँदैन,’ अध्यक्ष प्रधानले भने,‘दुई दिन सरकारी बिदा भएका कारण सोमबार केही पम्पको तेल सकिएर यस्तो भएको हुनसक्छ ।’

निगम भन्छ- प्रशस्त मात्रामा तेल दिएका छौँ

नेपाल आयल निगमले बजारमा पर्याप्त आपूर्ति रहेको बताएको छ । आयल निगमले तेल वितरण नगरेको र बजारमा अभाव भएको भन्ने कारणबाट उपभोक्ताले तेल नपाउने अवस्था सत्य नभएको दाबी गरेको छ । चाडपर्वलाई लक्षित गरेर बजारमा प्रशस्त मात्रामा पेट्रोल बिक्री गरिरहेकाले अहिले बजारमा अभाव हुनै नसक्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

यो साता आइतबार पनि घटस्थापनाको बिदा परेका कारण शनिबार समेत इन्धन बिक्री गरिएको ठाकुरले बताए । ‘काठमाडौं उपत्यकामा मात्रै शनिबार ७ लाख १३ हजार लिटर पेट्रोल बिक्री गरिएको छ,’ प्रवक्ता ठाकुरले भने, ‘चाडपर्वमा वितरण सहज बनाउन बिहान ८ बजेदेखि नै थानकोट डिपो खोलिएको छ । इन्धन अभाव हुनै सक्दैन ।’ पम्पहरूले इन्धन बिक्री नगरेको सम्बन्धमा आफूहरूलाई औपचारिक जानकारी नभएको पनि उनले बताए ।

इन्धन बिक्री रोक्नु सार्वजनिक अपराध

अत्यवश्यक सेवा ऐनलाई टेकेर सरकारले २५ प्रकार सेवालाई बन्द हड्ताल र आपूर्ति व्यवस्थामा आवरोध पुर्‍याउन रोक लगाएको छ । जसअनुसार पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था पनि छ ।

ऐनअनुसार पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था अवरोध गर्नु सार्वजनिक अपराध हो । त्यसो त नेपाल आयल निगमको बिक्रेता बिक्रेता विनियमावलीले पनि इन्धनको आपूर्पि व्यवस्थामा अवरोध पुर्‍याउन नपाइने व्यवस्था गरेको छ । आपूर्तिमा अवरोध गरे निगमले जरिवानादेखि बिक्रेता अनुमति खारेज गर्न सक्नेसम्मको व्यवस्था विनियमावलीमा गरिएको छ ।

तर, सोमबारको अवरोधबारे थप जानकारी आई नसकेको हुनाले कारबाहीबारे अहिल्यै बोल्न हतार हुने निगमका अधिकारीहरू बताउँछन् । तर, उपभोक्ता अधिकर क्षेत्रमा काम गर्ने अधिकारीहरू भने इन्धनको कृत्रिम अभाव सृजना गरिनु दुखद् भएको बताउँछन् । उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले जुनसुकै बहानामा इन्धनको बिक्री प्रभावित हुन दिन नहुने बताउँछन् । यस्तो कार्यमा संलग्नलाई छानबिनको दायरामा ल्याउन पनि उनले निगम र सरकारसँग माग गरे ।अनलाइन बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com