Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

पहिराेले अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी खुल्यो, कालीगण्डकी करिडोर अझै बन्द

बाग्लुङ – दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । निरन्तर वर्षाको कारण सडक माथिदेखि खसेको पहिरोले लोकमार्गअन्तर्गत बाग्लुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डको निसीखोला गाउँपालिका–१ पाखुतेमा सडक अवरुद्ध भएको थियो ।

मङ्गलवार बेलुकादेखि अवरुद्ध भएको सडक अहिलेसम्म पनि दुईतर्फी सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । 

सडकमा ठूलो पहिरो झरेका कारण दुईतर्फी खुलाउन नसकेको उहाँको भनाइ छ । अहिले पनि दुईतर्फी सञ्चालनका लागि प्रयास गरिरहेको केसीले जानकारी दिनुभयो । आज दिउँसोसम्म पूर्णरुपमा सडक सञ्चालनमा आउने उहाँको भनाइ छ ।

सडक ठप्प भएपछि अलपत्र परेका यात्रु तथा गाडी गन्तव्यतर्फ लाग्न थालेका प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । काठमाण्डाै, पोखरादेखि पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम र रोल्पा जाने गाडी सडकमा रोकिएका थिए ।

यस्तै, पहिरोले अवरुद्ध बनेको कालीगण्डकी करिडोर अहिलेसम्म सञ्चालनमा आएको छैन । मङ्गलवार करिडोरको बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा माथिदेखि खसेको लेदोसहितको पहिरोले सडक पूर्णरुपमा ठप्प भएको थियो । अहिले बाग्लुङ नगरपालिकाको डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास गरेको केसीले जानकारी दिनुभयो ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com