Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

बागमतीका ८९ वडामा सुरू हुन सकेन माओवादीको विशेष रूपान्तरण अभियान

नेकपा (माओवादी केन्द्र) ले सुरू गरेको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान बागमतीका ८९ वडामा भने सुरू हुन सकेको छैन।

माओवादीको बागमती विशेष सम्पर्क प्रदेश समितिले भदौ २० गते जारी गरेको सर्कुलरमा बागमती प्रदेशका ११२१ वडामध्ये १०३२ वडामा अभियान सुरू भएको र ८९ वडामा विभिन्न कारणले हुन नसकेको उल्लेख छ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ १७ गते देशैभरका वडामा एकैपटक जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको उद्घाटन गरेका थिए।

माओवादीले ३ महिनासम्म यो अभियान सञ्चालन गर्ने जनाएको छ। अभियानका क्रममा देशभरका करिब २५ लाख मतदातासँग अन्तर्क्रिया गर्ने र कार्यक्षेत्रमा खटिएका नेता-कार्यकर्ता तीन महिनासम्म सम्बन्धित क्षेत्रमै रहनुपर्ने माओवादीले जनाएको छ।

कतिपय केन्द्रीय सदस्य कार्यक्रम उद्घाटन गरेर काठमाडौं फर्किएको भन्दै कार्यक्षेत्रमै बस्न पनि समितिले निर्देशन दिएको छ।

‘कतिपय केन्द्रीय समिति र प्रदेश समिति स्तरका कमरेडहरूले तोकिएको कार्यक्षेत्र नगई आफ्नै अनुकूलतामा फर्कने तथा कार्यक्रम उद्घाटन गरेर राजधानी फर्कने प्रवृत्ति देखिएको समीक्षा भयो,’ सर्कुलरमा उल्लेख छ,‘कार्यक्षेत्रमा नगएका एवं कुनै पनि जानाकारी नदिई आफ्नो अनकूल क्षेत्र फर्कने कमरेडहरूका सम्बन्धमा तथा उद्घाटन नभएका वडामा के कारणले उद्घाटन नभएको हो भन्ने सम्बन्धमा प्रदेश अध्यक्षहरूले प्रतिवेदन तयार पारी पेश गर्न निर्देशित गरिएको छ।’

प्रदेश समन्वय समितिका अध्यक्ष श्रीकृष्ण अधिकारी, उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडा र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले हस्ताक्षर गरेको सर्कुलरमा अभियान सुरू हुन नसकेका वडाहरूमा भदौ २६ गते उद्घाटन गर्न निर्देशन दिइएको छ।

यस्तै माओवादीले पुरानो कार्यक्षेत्रका कार्यक्रममा सहभागी हुन या कार्यक्षेत्र परिवर्तन नगर्न पनि निर्देशन दिएको छ।

‘केन्द्रीय समितिका सदस्यहरू र प्रदेश समितिका सदस्यहरूले प्रदेश कार्यालयसँग समन्वय वा अनुमित नलिई आफ्नो कार्यक्षेत्र छाडी पुरानो कार्यक्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन वा कार्यक्षेत्र परिवर्तन गर्न नमिल्ने निर्णयअनुसार निर्देशित गरिएको छ,’ सर्कुलरमा उल्लेख छ। समितिले अभियानका क्रममा आसन ग्रहण, खादा र मालाको प्रयोग नगर्न पनि निर्देशन दिएको छ।  सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com