Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

ग्यास सिलिन्डर पड्किँदा सिंगो घर खरानी

ग्यास सिलिन्डर पड्केर सुनसरीको वराह क्षेत्र नगरपालिका–७, चक्रघट्टीस्थित सुमित्रा पौडेलको घर पूर्णरूपले क्षति भएको छ । शुक्रबार अपराह्न ४ बजे नयाँ सिलिन्डर चुलोमा जोडेर बाल्न खोज्दा एक्कासि पड्किएर उनको घर जलेको हो । ग्यास सिलिन्डर पड्केर दनदनी आगो लागेकाले पौडेलको घर, खाद्यान्न र चौपायासमेत नष्ट भएको वडाध्यक्ष कपिल आचार्यले जानकारी दिए । आगलागीमा परी पौडेलेका हात र अनुहार तथा छोरी शान्ताको खुट्टा जलेको छ ।

सामान्य आर्थिक अवस्था भएको पौडेल परिवारलाई तत्कालका लागि रेडक्रसबाट खाद्यान्न उपलब्ध गराएको वडाध्यक्ष आचार्यले जानकारी दिए । ‘घरमुली बाबुराम पौडेल दुई वर्षअघि दुर्घटनामा परी निधन भएका थिए । परिवारमा आमा, छोरा र छोरी छन्,’ उनले भने, ‘सिलिन्डर पड्किँदा छोरी घरभित्रै थिइन् । त्यसपछि आमाले आगोबाट छोरीलाई तानेर बाहिर ल्याउँदा दुवैजनाको शरीरको केही भाग जल्न पुगेको देखिन्छ ।’

उनीहरूलाई सामान्य उपचार गरेर अहिले घरमै राखिएको छ । आगलागीका कारण घरमा १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको वडाध्यक्ष आचार्यले जानकारी दिए । स्थानीय वेद घिमिरेले सिलिन्डर लिक भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको बताए । ‘सिलिन्डर ल्याउनासाथ चुलोमा जोड्दा छिस्स आवाज आएको थियो भनेर सुमित्राले जानकारी दिनुभएको छ,’ घिमिरेले भने, ‘यो भनेको सिलिन्डर लिक थियो भन्ने हो, तर छिस्स आवाज आउँदा लिक भएको र जोखिम हुनेबारे थाहा 
नहुँदा ग्यास बाल्न खोज्दा दुर्घटना भएको देखिन्छ ।’ 

घटनाबारे इलाका प्रहरी कार्यालय, महेन्द्रनगरले आवश्यक अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालयमा फाइल बुझाएको छ । इलाका प्रहरी कार्यालयका एक अधिकृतका अनुसार प्रारम्भिक अनुसन्धानमा ग्यास कम्पनीको कमजोरी देखिएको र पीडित परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने राय दिइएको छ । ग्यास उद्योगको कमजोरीले आगलागी भई क्षति भएमा एक करोड रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था ग्यास उद्योग संघले गरेको छ । 

संघका अध्यक्ष शिवप्रसाद घिमिरेले सुनसरीमा भएको घटनामा उद्योगको कमजोरी भेटिए बिमा कम्पनीबाट क्षतिपूर्ति भराउन तयार रहेको बताए । ‘ग्यास सिलिन्डर वा उद्योगको कमजोरीले दुर्घटना भएको पुष्टि भए घाइतेको उपचार र आगलागीबाट भौतिक पूर्वाधारमा भएको नोक्सानीको क्षतिपूर्ति बिमाबाट भराउनेछौँ,’ घिमिरेले भने । संघले बिमामार्पत दिने क्षतिपूर्तिमा दुर्घटनामा परी घाइते हुनेलाई औषधि–उपचारबापत अधिकतम १० लाख, भौतिक पूर्वाधारमा भएको क्षतिबापत अधिकतम ४० लाख र घटनामा परी मृत्यु हुने अधिकतम पाँचजनाको परिवारलाई १०–१० लाख रुपैयाँका दरले अधिकतम ५० लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था छ । नयाँ पत्रिका

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com