Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

कागबेनीका बाढी पीडितलाई राहत वितरण

sharethis sharing button

मुस्ताङको कागबेनीका बाढीपीडितलाई राहत वितरण गरिएको छ। अखण्ड ज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्ट नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको संयोजन तथा जिल्ला प्रशासन कार्यालय मुस्ताङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा बाढीपीडित परिवारलाई आइतबार कागबेनीमा राहत वितरण गरिएको हो।

यहाँ गत साउन २८ गते कालीगण्डकीमा अप्रत्याशित आएको थियो।  बाढीबाट प्रभावित भएका ती परिवारलाई अनन्त विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) ले राहत वितरण गरेका थिए।

पीडित परिवारलाई खाद्यान्न र लत्ताकपडासहित तत्काल आवश्यक पर्ने भाँडाकुँडा र अन्य सामग्रीसँगै प्रतिपरिवार १० हजार उपलब्ध गराइएको विश्वशान्ति गण्डकी महासभाका प्रवक्ता आचार्य सुदर्शन बडालले जानकारी दिए।

राहत वितरण समारोहमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी, बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगोल गुरुङका साथै सो गाउँपालिकाका उपाध्यक्ष, वडा नं ४ का अध्यक्षसहितका जनप्रतिनिधि उपस्थित थिए।

बाढीबाट मुक्तिनाथ, दामोदरकुण्ड एवं कागबेनीधाम जाने तीर्थालुको आवास तथा भोजनका लागि कागबेनीमा मुक्तिनाथ बाबाको सङ्कल्पमा निर्माण भएको अतिथि आश्रम गृहमा पनि क्षति पुगेको छ।

उक्त विकट धार्मिक क्षेत्रमा जाने तीर्थालुको सेवामा रहेको सो आश्रम पनि बाढीले बगाएपछि साधुसन्त एवं टाढाबाट मुक्तिक्षेत्रमा पुग्ने तीर्थयात्रीका लागि अब यहाँका होटलबाहेक अर्को विकल्प नरहेको बताइएको छ। उक्त आश्रमबाट तीर्थालुलाई निःशुल्क सेवा प्रदान हुँदै आएको थियो।

बाढीबाट एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। नगद सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ।

सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ वटा गरी भौतिक पूर्वाधारतर्फ २१ करोड दुई लाख बराबरको क्षति पुगेको विवरण सङ्कलन गरिएको थियो।

व्यक्तिका ५० वटा घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको पालिकाले जनाएको छ।

उक्त बाढीले २९ वटा घर पूर्ण क्षति भएको छ। ९ वटा गोठमा पूर्ण र १५ वटामा आंशिक क्षति भएको तथा बाढीले बगाउँदा २४ वटा पशु चौपाया पनि मरेका छन्।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com