Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सीआईबीले लियो बयान

काठमाण्डाै – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारमा रहेको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिएको छ ।

प्रधानमन्त्रीद्वयसँग बयान नलिएको भन्दै आलोचना भएपछि सीआईबीले गएराति बयान लिएको हो । ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजाने गरी मन्त्रिपरिषदबाट भएका निर्णयमा संलग्न भएकामाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिने तयारी गरिरहेका बेला सत्ता गठबन्धन दलको दबाबमा नेपाल र भट्टराईसँग बयान नलिइ अनुसन्धान टुङ्ग्याउन लागेको थियो ।

दुवै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको वर्तमान सरकारका घटक हुन्  । नेपाल र भट्टराईसँग बयान नलिइकन सीआईबीले ललिता निवास जग्गा प्रकरणबारे जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको थियो ।

तर, मन्त्रिपरिषदबाट निर्णय गराउने मुख्य व्यक्तिसम्मै अनुसन्धान गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगर्दा अवहेलनाको मुद्दा लाग्न सक्ने भन्दै नेपाल र भट्टराईसँग बयान नगरि रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन नसकिने अडान सीआईबीका अधिकारीहरूले लिएपछि प्रतिवेदन बुझाउनुअघि बयान लिएको हो ।

२०४९ देखि २०६९ सालसम्मको अवधिमा मालपोतदेखि मन्त्रिपरिषद्सम्मका निर्णयबाट ललिता निवासको १ सय ४३ रोपनीभन्दा बढी सरकारी जग्गा तत्कालीन भोगाधिकारी सुवर्णशम्शेर राणाका परिवार र भूमाफियाले हडपेका थिए ।

२०६६/६७ मा प्रधानमन्त्री निवास विस्तारका नाममा माधव नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्ले २५ रोपनी ५ आनामा नक्कली मोही खडा र भूमाफियालाई सट्टाभर्ना दिने निर्णय गरेको थियो । २०६९ असोजमा भट्टराई नेतृत्वको मन्त्रिपरिषद् र त्यही बेलाको गुठीको निर्णयले ५ रोपनी जग्गा नक्कली मोही हुँदै भूमाफियाले हडपेका थिए । यसअघि सीआईबीले गएको २८ गते पूर्व मुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको थियो ।उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com