Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

काठमाडौं महानगरले पठायो ६८ सहकारीलाई कारबाही गर्न प्रहरीलाई पत्र, १ अर्ब २१ करोड बचत अपचलन

२० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले ६८ वटा सहकारी संस्थाहरुले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै कानुनी कारबाहीको लागि प्रहरीलाई पत्र काटेको छ ।

महानगरले २०७२ सालदेखि २०८० असारसम्म गरेर करिब २ हजार ७०० जना बचतकर्ताको १ अर्ब २१ करोड ३८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा कारबाहीको लागि पत्र पठाएको हो । बचतकर्ताले दिएको उजुरीका आधारमा महानगरले प्रहरीलाई पत्र पठाएको हो ।

महानगरको सहकारी विभागका अनुसार २०७२ र ०७४ सालमा १/१ वटा, ०७५ सालमा दुई वटा, ०७६ सालमा ५ वटा, २०७७ सालमा ११ वटा र ०७८ सालमा १८ वटा सहकारीबाट बचतकर्ताका रकम हिनामिना भएको भन्दै प्रहरीलाई पत्र काटिएको थियो । त्यसयता भने सहकारीले रकम अपचलन गरेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । २०७९ यता मात्रै ३० वटा सहकारीले ३३ करोड ६३ लाख रकम हिनामिना गरेको विभागले जनाएको छ ।

महानगरले प्रहरीलाई पठाएको पत्रका अनुसार महानगरको कार्यक्षेत्रभित्र पर्ने सहकारीमध्ये गृहशान्ति बचत तथा ऋण सहकारी संस्थाले सबैभन्दा धेरै ३९ करोड ११ लाख रुपैयाँ हिनामिना गरेको छ । त्यसपछि अस्मोसिस बचत तथा ऋण सहकारी संस्थाले ७ करोड ५४ लाख रुपैयाँ अपचलन गरेको देखिएको छ ।

यस्तै ३ करोडमाथि बचत अपचलन गरेको भन्दै कारबाहीका लागि सिफारिस गरिएका सहकारीहरुमा हलमार्क बचत तथा ऋण सहकारी संस्था, मानापाथी बचत तथा ऋण सहकारी संस्था, अभिमत बचत तथा ऋण सहकारी संस्था, नव संकल्प बचत तथा ऋण सहकारी संस्था, जिलेट बचत तथा ऋण सहकारी संस्था र पर्फेक्ट बचत तथा ऋण सहकारी संस्था छन् ।

संख्याका हिसाबले आरक्ष ऋण तथा बचत सहकारी संस्थामा सबैभन्दा धेरै ५८८ जना बचतकर्ताले रकम फिर्ता नपाएको उजुरी परेको महानगरले जनाएको छ । उनीहरुले २ करोड ५० लाख रुपैयाँ दाबी रकम सहित गुनासो आएपछि महानगरले प्रहरीलाई कारबाही गर्न पत्र लेखेको थियो । त्यस्तै दोस्रोमा द नेक्स्ट सहकारी संस्थाले बचत फिर्ता नगरेको भन्दै २४४ जनाले उजुरी दिएका छन् । उनीहरुले १ करोड ८२ लाख रुपैयाँ बचत फिर्ता नआएको दाबी गरेका छन् । मध्यविन्दु बचत तथा ऋण सहकारीमा १७७ जना र नवसंकल्पमा ११३ जनाले बचत फिर्ता नभएको भन्दै उजुरी दिएका छन् । त्यहीअनुसारको पत्र महानगरले प्रहरीलाई पठाएको छ ।

तीन महिनामा ८ वटा पत्र

काठमाडौं महानगरको सहकारी विभागले २०८० साल लागेपछि मात्रै ८ वटा सहकारी विरुद्ध प्रहरीलाई पत्र काटिसकेको छ ।

त्यसमध्ये अभिमत बचत तथा ऋण सहकारी संस्थाका १९ जना बचत कर्ताले ३ करोड ८९ लाख रुपैयाँ बचत फिर्ता गराउन पहल गरिदिन भन्दै परेको उजुरीको आधारमा प्रहरीलाई पत्राचार गरिएको महानगरले जनाएको छ ।

महानगरका अनुसार १८ असारमा पनि प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाविरूद्ध उजुरी परेको थियो । सो सहकारी संस्थाले २ करोड ५० लाख रुपैयाँ बचत फिर्ता नगरेको उजुरी बचतकर्ताले गरेपछि प्रहरीलाई पत्राचार गरिएको छ ।

१५० सहकारीमा समस्या

प्रहरीमा कारबाहीका लागि उजुरी परेको ६८ सहकारी संस्था बाहेक अन्य करिब १५० वटा सहकारी संस्था समस्याग्रस्त रहेको महानगरले जनाएको छ ।

‘महानगरले प्रहरीलाई पत्र नकाटेको १५० जति सहकारी संस्था समस्यामा छन् । बचतकर्तालाई रकम फिर्ता गर्छु भन्दै ती सहकारी संस्थाका सञ्चालकहरू सम्पर्कमा छन् । त्यसैले अहिले नै कारवाहीका लागि प्रहरीलाई पत्र नकाटेका हौं,’ महानगरको सहकारी विभागकी महाशाखा प्रमुख विमला कोइरालाले भनिन् ।

ललितपुरमा १५ वटामा समस्या

ललितपुर महानगरपालिका मातहतमा रहेका सहकारीहरुमा भने ठूलो समस्या नदेखिएको महानगरले जनाएको छ ।

बचतकर्ताको रकम उठाउन दुई वर्ष अगाडि एक सहकारीको नाममा प्रहरीलाई खबर गर्नुपरे पनि अहिले त्यस्तो अवस्था नरहेको महानगरका सूचना अधिकारी देवीप्रसाद गुरागाईंले बताए ।

‘हाम्रोमा १५ वटा जति सहकारीमा १०/१२ लाख रुपैयाँ बचतकर्ताको रकम तलमाथि भएको भन्दै गुनासो आएको छ, त्यो महानगर आफैंले हल गर्न सक्ने समस्या हुन्,’ गुरागाईंले भने ।

उनले ललितपुरमा ३१९ सहकारी रहेकामा नियमित साधारण सभा तथा लेखापरीक्षण नगर्ने १५ सहकारीलाई कारवाही गरिएको समेत बताए ।

महानगरले १४ फागुनमा १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेको थियो । महानगरको सहकारी ऐन, २०७५ अनुसार ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने त्यस्ता सहकारी संस्था खारेजी गरिएको महानगरको भनाइ छ ।

खारेजी भएका सहकारीको नाममा कुनै कारोबार गर्न नपाउने कानुनी व्यवस्था महानगरले गरेको छ । अनलाइन खबर बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com