Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

नक्कली भुटानी शरणार्थी प्रकरण : अहिलेसम्म खाणसहित १२ जना पक्राउ, लहरो अझै तानिँदै

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने प्रकरणमा संलग्न रहेकाे अभियोगमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । पछिल्लो पटक आज बुधवार पूर्व गृहमन्त्री बालकृष्ण खाण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ परेका हुन् । मङ्गलवार काठमाण्डौ टोखाका रामशरण केसी र झापाका गोविन्द चौधरी पक्राउ परेका थिए । उनीहरू पैसा उठाउने बिचौलिया भएको प्रहरीले जनाएको छ । 

यही प्रकरणमा सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप तथा बिचौलिया समूहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ र सागर राई पक्राउ परिसकेका छन् । 

पक्राउ पुर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा नीरजसहित नौ जना फरार रहेका प्रहरीको भनाइ छ । तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक र पूर्व गृह सचिव महेश्वर न्यौपानेलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै आठ सय ७५ जना नेपालीसँग १० देखि ५० लाख रुपैयाँसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको प्रहरी अनुसन्धानले देखाएको छ । यस प्रकरणमा कांग्रेस नेत्री एवम् सांसद आरजु राणा देउवा र मञ्जु खाणले पनि पैसा लिएको दाबी गरिएको अडियो सार्वजनिक भएको छ । यो अडियोमा आरजुलाई साढे दुई करोड र मञ्जुलाई छ करोड रुपैयाँ बुझाएको दाबी गरिएको छ । यो अडियोको विषयमा छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

२०७६ जेठ ३० : भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधानका लागि पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन । कार्यदलको विज्ञ सदस्यका रूपमा गणेश केसी र सदस्य सचिवका रूपमा गृह मन्त्रालयका शाखा अधिकृत दीपकप्रसाद न्यौपाने नियुक्त भए । बिचौलिया समूहको स्वार्थअनुसार कार्यदल गठन भएको पुष्टि भइसकेको छ । 

२०७६ कात्तिक १ : कार्यदलको प्रतिवेदन पेस । तर त्यो प्रतिवेदन सरकारले अझैसम्म सार्वजनिक गरेको छैन । सरकारले सार्वजनिक नगरेको प्रतिवेदनमा नेपालमा रहेका शरणार्थीलाई तेस्रो देशमा पुनर्स्थापनाका लागि सरकारले पहल गर्न सिफारिस गरेको थियो । बिचौलिया गिरोहले त्यही प्रतिवेदनको प्रतिलिपि हात पारेर त्यसमा आठ सय ७५ जना नेपालीको नामसहितको अनुसूची थपेको हो । उनीहरूबाट जनही १० लाखदेखि ५० लाख रुपैयाँसम्म रकम उठाएर गिरोहले नक्कली शरणार्थी परिचयपत्र वितरण गर्दै आएको थियो ।

२०७८ असोज १४ : गृह सचिवस्तरीय निर्णयबाट झापाका सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) को अध्यक्षतामा छुट शरणार्थीको विषयमा अर्को कार्यदल गठन ।

२०७८ मङ्सिर १३ : पन्थी कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय । छुट शरणार्थी दर्ता गर्ने विषयले सरकारी मान्यता पाए पनि उनीहरूलाई तेस्रो देश पुनर्वास गराउने विषयमा कुनै पनि देशसँग सहमति भएको थिएन । यसका लागि सुझाव पेस गर्न भन्दै फेरि झापा प्रशासनलाई पत्र लेखियो ।

२०७८ मङ्सिर १८ : कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय झापा र मोरङलाई पत्राचार गर्‍याे । 

२०७९ चैत १२ : नक्कली भुटानी शरणार्थी बनाउने गिरोहका मुख्य नाइके केशव दुलालसहित सानु भण्डारी र टेक गुरुङ पक्राउ ।

२०७९ चैत १५ : गिरोहमा संलग्न सागर राई पक्राउ ।

२०८० वैशाख १९ : तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ । हिरासतमा रहेका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेलको बयानकाे आधारमा प्रहरीले राईलाई पक्राउ गरेको हो । प्रहरीले यही दिन इन्द्रजितका छोरा नीरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्‍याे । रकम सङ्कलनमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको भनिएका नीरज अहिले फरार छन् । 

२०८० वैशाख २० : उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ । त्यही दिन तत्कालीन ऊर्जामन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी । सन्दीप त्यही दिन पक्राउ परे पनि टोपबहादुर अझै फरार । 

मन्त्रीको सल्लाहकारका रूपमा गृह मन्त्रालयभित्र बसेर गिरोहको योजनाअनुसार नीतिगत निर्णयमा प्रभाव पार्दै आएका इन्द्रजित राईले भित्रका सबै सूचना र दस्तावेज गिरोहलाई उपलब्ध गराउँदै आएको र राईसहितको गिरोहले रायमाझीलाई पनि साथमा लिएर नीति निर्माणमा प्रभाव पार्दै आएको आरोप छ । गिरोहका सदस्यका तर्फबाट रायमाझीका छोरा सन्दीपकाे नाममा काटिएको एक करोड ५० लाख रुपैयाँको चेक प्रहरीले बरामद गरिसकेको छ ।

वैशाख २६ : गिरोहमा संलग्नमध्ये काठमाण्डौकाे टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ ।

वैशाख २७ : पूर्व गृहमन्त्री बालकृष्ण खाण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ । प्रहरी हिरासतमा रहेका सचिव पाण्डेले पूर्व गृहमन्त्री खाणको समेत नाम लिएपछि आरोपितहरूको बयानका आधारमा प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो ।उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com