Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

बसाइँसराइले रितिंदै जैमिनीका गाउँ

दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो। आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे। पहिराले आक्रान्त बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थिए। बसाइँसराइले अहिले गाउँ नै रित्तिएको छ।

सोही वर्ष जैमिनी-९ पैञ्युथन्थापको पिप्लेगाउँका सबै उठ्ने गरी पहिरो खस्यो, सात घरपरिवार जोखिममा परे। मानवीय क्षति नभए पनि अधिकांश घरको उठिबास लाग्यो। पैञ्युथन्थापकै घ्युरमा आएको पहिराले गाउँले विस्थापित बने।

जैमिनैकै दमेक, जैदी र बिनामारेमा पहिराले धेरै धनजनको क्षति भयो। तत्कालका लागि पहिराले पुर्‍याएको क्षतिको राहत त पीडितले पाए, तर बाढीपहिरो, बाँदर र विकास अभावले भइरहेको बसाइँसराइका दीर्घकालीन प्रभाव भने देखिन सुरु गरेको छ। प्राकृतिक प्रकोपका कारण भइरहेको बसाइँसराइको एउटा ज्वलन्त उदाहरण हो जैमिनीको जनसंख्यामा आएको गिरावट। विसं २०७८ मा भएको राष्ट्रिय जनगणनाको तथ्यांकले यही उजागर गरेको छ।

जैमिनीकै मुटु कुश्मीशेरामा रहेको शान्ति माध्यमिक विद्यालयको एसइई व्याच २०६४ का एक सय बढी विद्यार्थीमध्ये अधिकांशले कक्षा १२ उत्तीर्ण गरेपछि जैमिनी छाडेका जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउँछन्।

शान्ति माविमा जैमिनीका अधिकांश विद्यार्थीले अध्ययन गर्थे। उच्च शिक्षाका लागि घर छाडेर हिंडेकामध्ये धेरैजसो गाउँ फर्किएनन्। युरोप, अमेरिका र देशकै ठूला शहरमा पुगेकाहरू उतै बसेका उनले बताए। रोजगारीका अवसर गाउँमा नहुनु, कृषि पेसाले मात्रै गुजारा नचल्नु लगायत कारणले नगरको जनसंख्या घट्दो छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार जैमिनीमा दुई दशमलव ५३ प्रतिशत जनसङ्ख्या ऋणात्मक रहेको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार यहाँको जनसंख्या ३२ हजार ४६ रहेकामा १० वर्षपछि २४ हजार छ सय २८ मा झरेको छ। ऋणत्मक जनसंख्या हुनेमा फलेवास नगरपालिका पनि रहेको छ।

‘जनसंख्या धेरै घटेको पाइएको छ’, उपप्रमुख शर्मा भन्छन्। देश बाहिरभन्दा देशभित्रै बसाइँ सरेर जाने जैमिनीमा धेरै छन्। जैमिनीका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्य बसाइँसराइसँगै जन्मदर घट्दा जनसंख्या घटेको बताउँछन्। जैमिनीमा एक प्रतिशतभन्दा कम जन्मदर रहेको तथ्याङ्कले देखाएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com