Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

राजस्व चुहावट नियन्त्रण गर्नुस्, गलत गर्ने कसैलाई नछोड्नुस् : प्रधानमन्त्री

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजस्व सङ्कलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रमभङ्ग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा राजस्वको अवस्था र चुहावट नियन्त्रणसम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘अर्थतन्त्रको समग्र स्थिति हेर्दा धेरैजसो सूचकहरू सकारात्मक हुँदै गएको देखियो । गएको पुसदेखि अर्थतन्त्रमा क्रमशः सुधार आएको देखियो । तर यसको अर्थ नेपाली अर्थतन्त्र सङ्कटमुक्त भइसक्यो भन्ने होइन । राजस्व सङ्कलनमा अहिले पनि केही समस्याहरू छन् । राजस्वको दायरा बढाउने र चुहावट नियन्त्रणको कामलाई एकैसाथ अगाडि बढाउन जरुरी छ ।’

‘नीतिगत सुधारको प्रयत्नबाट यी कामहरू अगाडि बढाउन सकिन्छ । चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनलाई सुदृढ र समन्वयात्मक बनाउनुपर्छ । यसमा हामीले विशेष जोड दिन आवश्यक छ’, प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले चुहावटको समस्या भन्सारमा मात्र नभई राजस्व सङ्कलनका अन्य क्षेत्रमा पनि भएको भन्दै यसको दायरा बढाउनुको अर्थ यसको प्रभावकारिता बढाउनु पनि भएको बताउनुभयो ।

‘समन्वयात्मक ढङ्गले अगाडि बढ्दा परिस्थिति बदल्न सकिन्छ । मैले राजनीतिमा पनि भन्दै आएको छु निरन्तरतामा क्रमभङ्गता । निरन्तर गइरहेको परिस्थिति क्रमभङ्ग गरिदिएपछि त्यहाँ गति आउँछ, त्यसले नतिजा दिन्छ । राजस्व चुहावट नियन्त्रणका निम्ति पनि यो तरिका प्रभावकारी हुन सक्छ’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले राजस्व प्रशासन र नियन्त्रणमा काम गरिरहेका कर्मचारी र सुरक्षाकर्मीले उच्च मनोबल र असल आचरणका साथ काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रविधिको प्रयोग ठिक ढङ्गले नगरिकन चोरी नियन्त्रण र सुरक्षा प्रबन्ध पनि प्रभावकारी हुन सक्दैन । प्रविधिमैत्री अनुसन्धान र नियन्त्रणको काम जरुरी छ । राजस्व छली गर्ने ठूलो शक्तिलाई नछुने तर सानालाई मात्र छुन्छन् भन्ने आम गुनासो छ । तसर्थ अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्ने ठूलालाई नियमन र नियन्त्रण गर्न विशेष जोड लगाउनुपर्छ । ठूला बदमासीहरू नियन्त्रण गरेपछि साना बदमासीहरू क्रमशः न्यूनीकरण हुन्छन् । तपाईँहरूले देश र अर्थतन्त्रको हितमा कदम चाल्नुस् । राज्य निरीह छैन, गलत काम गर्ने कसैलाई पनि छोड्दैन भन्ने प्रष्ट दिनुस् ।’

बैठकमा उपप्रधान एवम् अर्थ मन्त्री विष्णु पौडेलले राजस्व सङ्कलन र चुहावटका क्षेत्रमा हुनसक्ने सम्भावित मिलेमतोलाई चेन ब्रेक गर्ने गरी कार्यविभाजन गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो । त्यस क्रममा मितव्ययिता र खर्च कटौतीको विषयलाई गम्भीरतापूर्वक लिएर त्यहीअनुरूप कार्ययोजना र कार्यान्वयनमा लैजान आफूले मेहनत गरिरहेको मन्त्री पौडेलले बताउनुभयो ।

बैठकमा राजस्वसँग सम्बन्धित सरकारी निकायका प्रमुखहरूले देशको अर्थतन्त्रको आजको अवस्था, अर्थतन्त्रका चुनौतीहरू, राजस्व सङ्कलनको अवस्था, राजस्व चुहावट नियन्त्रणमा सरकारले चाल्नुपर्ने कदम र आउँदो कार्ययोजनाबारे प्रस्तुति राख्नुभएको थियो ।उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com