Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

पक्राउ पुर्जी जारी भएकी पञ्चालाई सरकारकै संरक्षण, पहुँचवालालाई समाउन किन डराउँछ प्रहरी ?

१५ वर्षअघि कालीकोटका १७ वर्षीय युवक राजबहादुर मल्लको हत्यामा संलग्न भएको आरोपमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा दोस्रोपटक पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएका सबै माओवादीका नेता-कार्यकर्ता थिए ।

प्रहरीका अनुसार २६ फागुन २०६५ को बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा राजबहादुर मल्लमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राजबहादुरको उपचारकै क्रममा मृत्यु भएको थियो । त्यही घटनालाई लिएर अहिले सुर्खेत जिल्ला अदालतले सिंहसहित ६ जनाका नाममा पक्राउ पुर्जी जारी गरेको छ ।

तर, सिंहलाई पक्राउ गर्न अदालतले अनुमति दिएको २ सातासम्म पनि प्रहरीले पक्राउ गरेको छैन । सिंहलाई सुर्खेत प्रहरीले फरारको सूचीमा राखेको छ । जबकि उनी दैनिक सार्वजनिक कार्यक्रममा सहभागी भइरहेकी छिन् ।

यति मात्रै होइन, सिंहमाथि अनुसन्धान गर्न १५ वर्षको अवधिमा प्रहरीका ३१ अनुसन्धान अधिकृत तोकिएका छन् । तर, राजनीतिक पहुँचका कारण सिंह खुलमखुला हिँडिरहँदा पीडितहरू भने थप पीडा बोकेर बाँचिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार छ । फरार सूचीमा रहेकी सिंह खुला राजनीतिमा भए पनि सरकारको दबाबका कारण प्रहरीले पक्राउ गरेको छैन ।

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले उक्त घटनाको मुख्य अभियुक्त भनिएका व्यक्तिलाई पक्राउ नगरिएसम्म सिंहलाई पक्राउ गर्न नमिल्ने बताउँछन् । अदालतको आदेशपछि सिंहमाथिको अनुसन्धान कता पुग्यो भन्ने प्रश्नमा प्रवक्ता शाहीले भने, ‘अनुसन्धान कतै पुगेको छैन । अदालतले पक्राउ पुर्जी दियो । सुरुमा जसको नाममा जाहेरी आएको थियो, त्यसको मुख्य प्रतिवादी भारतमा छ । उसलाई हामी खोज्दै छौँ । घटनामा संलग्न मुख्य व्यक्ति नै नआएपछि अनुसन्धान अगाडि बढ्ने कुरा पनि त भएन ।’

पीडितले घटनामा खुकुरी प्रहार गरेको भनी किटानी गरेका मुख्य आरोपीमाथि अनुसन्धान गरी सत्यतथ्य बाहिर नआई पक्राउ गरिनु अनर्थ हुने शाहीले बताए । भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीलाई पक्राउ गरेर चर्चा कमाएका प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिंहलाई संरक्षण दिएका छन् ।

चर्चित सुनकाण्डमा जोडिएपछि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले सोधपुछ मात्रै गरेको थियो । सरकारले सिंहलाई पनि संरक्षण गरेपछि प्रमुख सत्ता साझेदार दल कांग्रेस रुष्ट देखिन्छ । विभिन्न आरोप लागेका कांग्रेसका माथिल्ला ओहदाका नेताहरूलाई भटाभट पक्राउ गर्ने तर आफ्नालाई बचाउने माओवादी परिपाटीले कांग्रेसको ठूलो पङ्क्ति प्रचण्ड सरकारसँग सन्तुष्ट छैन ।

बिहीबार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीका भाइ व्यवसायी अरुण चौधरी पक्राउ परेपछि यो विषय थप पेचिलो बनेको छ । सीजी ग्रुपका अध्यक्षसमेत रहेका विनोद चौधरीले आफ्नो भाइलाई पक्राउ गरेर राज्यले आतंक मच्चाएको टिप्पणी गरेका छन् ।

यो विषयलाई सांसद चौधरीले शुक्रबार कांग्रेस बैठकमा प्रवेश गराएका हुन् । सुरुदेखि नै प्रचण्ड सरकारको खिलाफमा रहेको कांग्रेसको संस्थापनइतर समूहमा सभापति शेरबहादुर देउवानिकट मानिने बालकृष्ण खाँण पनि मिसिएपछि त्यसले देउवालाई नै अप्ठ्यारो पारेको छ ।

खासगरी, भुटानी शरणार्थी प्रकरणमा केही समय जेल बसेर निस्किएपछि खाँण सरकार र उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठप्रति सकारात्मक छैनन् । खाँणले सके सरकारै ढाल्ने, नसके पनि गृहमन्त्री फेर्ने लबिङ देउवासँग गरिरहेका छन् । तर, देउवाबाट ग्रीन सिग्नल नपाएपछि खाँण अहिले संस्थापनइतर समूहमा पुगेका छन् ।

पहुँचमा हुनेलाई पक्राउ गर्न डराउँछ प्रहरी

कुनै पनि अपराधमा संलग्न व्यक्तिमाथि परेको किटानी जाहेरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्नुपर्ने हुन्छ । तर, राजनीतिक पहुँच भएका ठूलाबडालाई प्रहरीले सहजै पक्राउ गर्दैन ।

प्रहरीले नेपालमा नै रहेकाहरूलाई खोजी गरेर पक्राउ गर्छ भने अपराध गरेर विदेश भागेकाहरूको हकमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा पक्राउ गर्छ । तर, ठूला अपराधमा संलग्न भएर पनि राजनीतिक पहुँचमा रहेकाहरूलाई पक्राउ गर्न भने प्रहरी तर्किने गरेको छ ।

राजनीतिक पहुँचमा भएका व्यक्तिहरू सार्वजनिक कार्यक्रममा देखिइरहे पनि प्रहरीले भने उनीहरूलाई फरार सूचीमा राख्ने गरेको छ । अझ कतिपय आरोपीहरू भने प्रधानमन्त्री, मन्त्रीसँग देखिन्छन् तर प्रहरी उनीहरूलाई पक्राउ गर्न सक्दैन ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापालाई प्रहरीले हालसम्म पनि पक्राउ गर्न सकेको छैन । तत्कालीन गृहमन्त्री थापाका सल्लाहकार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान गर्दा प्रतीक पनि उक्त घटनामा संलग्न रहेको पाइएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

इन्द्रजित राईका छोरा निरज राई पनि यही प्रकरणमा फरार छन् । उनीविरुद्ध पनि वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो । तर, १० महिना बित्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । यस्तै, ६० किलो सुन तस्करी प्रकरणमा २९ जनामध्ये जीवन चलाउने, अमला रोका र भोला साह सोनारलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग विवाह गरेकी अमलाको सम्बन्ध माओवादीका शीर्ष नेतासँग जोडिएपछि प्रहरी निरीह बनिरहेको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई) लगायत बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाखभन्दा बढी रकम खाएर बेपत्ता भएका छन् । पूर्वअध्यक्ष भूपेन्द्र राई र हालका अध्यक्ष एवं व्यवस्थापक थानबहादुर बुढामगरलाई कास्की प्रहरीले फरार सूचीमा राखेको छ । शिलापत्र

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com