Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

१५ किलोमिटरको भाडा ५ सय ५० रूपैयाँ…

बझाङ – खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो ।

कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा घण्टा समय लाग्छ । त्यो दूरीमा जीप व्यवसायीले भने तीन सय ५० रुपैयाँ असुल गर्दै आएका छन् । सानोतिनो सामान ल्याउन तमैल बजार पुग्नैपर्छ, उहाँले भन्नुभयो, तमैल पुग्न बाटोमै झण्डै एक हजार रुपैयाँ सकिन्छ । हामीजस्तो सानो व्यवसायीलाई छोटो बाटोमै बढी खर्च भए पनि केको व्यवसाय गर्नु ?

खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाका कुलप्रसाद जोशी पनि सदरमुकामबाट घर जान भाडाकै चिन्ता लाग्ने बताउनुहुन्छ । घरतिर हरेक हप्ता जानुपर्छ । बाटोमै धेरै खर्च हुन्छ । जीप सञ्चालकले मनोमानी तरिकाले गाडी भाडा लिन्छन् । प्रतिवाद कसैले गर्दैैनन् । उहाँका अनुसार छान्नामा जीप सञ्चालक कम यात्रु भए नजाने तर क्षमताभन्दा बढी भए पनि थपिहाल्छन् । कति दिन तमैल बजारमै थुप्रो जीप भएर पनि हिँडेर गइयो, उहाँले भन्नुभयो, जीप नभरिञ्जेल कुनै ठाउँबाट पनि हिँड्दैनन् तर जीप भरिए जुन ठाउँबाट चढे पनि रु सयभन्दा तल लिँदैनन् ।

खप्तडछान्नामा अघिल्लो सरकारको पालामा एक पटक मूल्य निर्धारण गरिएको थियो । प्रतिकिलोमिटर १२ रुपैयाँ तोकेर तमैल–कालुखेती–गडराय–थामलेकको भाडा निर्धारण गरिएको थियो, खप्तडछान्ना–५ का राजेश कार्कीले भन्नुभयो, त्यो बेलामा कालुखेतीबाट एक सय २० मै तमैल पुग्थ्यौँ । पछि सडक बिग्रेको, डिजेलको मूल्य बढेको भन्दै व्यापारीले मूल्य बढाइरहे । पालिकाले कुनै सुनुवाइ गरेन ।

उहाँका अनुसार भाडाको विषयलाई लिएर पटकपटक कुरा उठ्दा पनि पालिकाले चासो दिएको छैन । कालुखेतीबाट गडरायसम्म करिब पाँच किलोमिटर दूरी छ । त्यसमा पनि व्यवसायीले दुई सय रुपैयाँ असुल्दै आएका छन् । उहाँले भन्नुभयो । गडरायका ध्रुव रोकाया दशैँ बिदामा घर आएको बेला सम्झिँदै भन्नुहुन्छ, घर आएको बेला गाडी चालकसँग झगडा नै भयो । रुट परमिट पाएका सडकमा पनि तेब्बर भाडा लिएको भन्दै झगडा भयो । पछि ठूलो लफडा हुनसक्ने भन्दै बोलेनौँ ।

उहाँ पनि पालिकाले भाडा यकिन गरी बढी पैसा असुल्ने जीप व्यवसायीलाई कारबाही गर्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, जीप व्यवसायीलाई जसले जति भाडा लिए पनि हुन्छ भन्ने भएको छ । १० मिनेटको बाटोमा गाडी चढे पनि सय रुपैयाँभन्दा बढी असुल्छन् । यता जीप व्यवसायी हेमराज थापा जीप भाडा अलि बढी नै भएको स्वीकार्नु हुन्छ । उहाँ भन्नुहुन्छ, जीपको भाडा अलि बढी नै हो तर सडकको अवस्थाअनुसार त्यो भाडा केही पनि होइनजस्तो लाग्छ । सरकारले सडक अलि गतिलो बनाइदिएको भए भाडा निकै सस्तो हुने उहाँ बताउनुहुन्छ ।

गाडी भाडाको विषयमा हामी जीप व्यवसायी आफैँले सल्लाह गरेर एक मूल्य तोकेका हौँ । गाडी छान्नामा दुई/तीन ठाउँमै खोलामा हाल्नुपर्छ । खोलामा हाल्दा हप्तामै आठरदश हजार रुपैयाँका टायर फेर्नुपर्छ । त्यो हेर्न हो भने व्यवसायीलाई पनि निकै मर्का छ उहाँले भन्नुभयो । थापाका अनुसार सरकारले सडक बलियो बनाइदिए जीप भाडा अन्य ठाउँको जस्तै हुन्थ्यो । सबैले हामीलाई मात्रै दोष दिन्छन् । यहाँ हिउँदकै महिनामा पहिरो आएर सडक अवरुद्ध हुँदासमेत व्यवसायीले पहिरो पन्छाएर यात्रुको सुविधाका लागि जीप गुडाउनुपर्छ । उहाँले भन्नुभयो ।

अब नयाँ भाडा निर्धारण हुन्छ : पालिका

खप्तडछान्ना गाउँपालिकाका प्रवक्ता रमानन्द जोशी भने गाउँपालिकाले प्रतिकिलोमिटर २० रुपैयाँ लिने निर्णय गरेर प्रशासनलाई पठाएको बताउनुहुन्छ । हामीले पालिकामा निर्णय गरेर नयाँ मूल्यदर प्रशासनलाई पठाएका छौँ । उताबाट पत्र आएको छैन । त्यसपछि जीप भाडामा एकरूपता हुन्छ । उहाँले भन्नुभयो ।

प्रवक्ता जोशीका अनुसार छान्नामा धेरै ठाउँमा पहिरो आउँदा सडक अवरुद्ध हुने गरेको छ । गएको वर्षको बाढीले सडक पूरै तहसनहस गरेको हुँदा बाटो निकै अवरुद्ध हुने भएपछि जीप भाडा निर्धारण गर्न सकिएको थिएन । अब तुरुन्तै नयाँ भाडादर लागू हुन्छ । सडकलाई दिगोरूपमा टिकाउन तथा बाह्रै महिना सञ्चालन गर्नका लागि पनि पालिकाले सबै निकायसँग छलफल गरिरहेको उहाँले बताउनुभयो । अहिले छान्नामा मात्रै डेढ दर्जन जीप सञ्चालनमा छन् । गाडी भाडा बढी भएकै कारण व्यवसायीले जीप थप्दै गरेको स्थानीयको बुझाइ छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com