Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

ठमेलका व्यवसायी भन्छन्– दैनिकी चलाउनै गाह्रो छ

दुई वर्ष कोरोनाको महामारीले ग्रस्त बनाएको पर्यटकको आकर्षणको केन्द्र ठमेलमा अहिले पनि व्यापारले गति नलिएको व्यवसायीहरूको गुनासो छ । नोभेम्बरमा सुरु हुनुपर्ने अफसिजन १५ दिन अगाडि नै सुरु भएपछि थप गाह्रो भएको उनीहरूको भनाइ छ ।

कोरोनाको समयमा मृतप्रायः रहेको ठमेलमा सेप्टेम्बर र नोभेम्बरमा व्यापारले गति लिएको र अहिले भने अफसिजन सुरु भएको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले बताए । व्यापार नभएकै कारण दुई वर्षदेखि रोकिएको ठमेलको पर्यटन व्यवसाय र त्यसमा आबद्ध व्यक्तिहरूको आर्थिक क्रियाकलाप असाध्यै अप्ठ्यारो अवस्थामा गुज्रिएको उनको भनाइ छ ।

कोरोना महामारीअघि एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिने गरेकामा कोरोनापछि भने पाँच लाख पर्यटक आएको सरकारी तथ्याङ्क उनले सुनाए । “पहिलेको तुलनामा अहिले ५० प्रतिशतमात्रै पर्यटक भित्रिएका छन्”, उनले भने । राज्यबाट ठमेल पर्यटनको विकासका लागि केही सहयोग नभएको भन्दै उनले गुनासो गरे । उपाध्यक्ष धमलाले भने, “राज्यले नैतिक र आर्थिक सहयोग नगरे पनि पर्यटन व्यवसायमा आशाको त्यान्द्रा पलाएको छ ।” धमलाले परिषद्ले अबको दुई वर्षभित्र सुन्दर ठमेल बनाउने लक्ष्य राखेर अहिले होर्डिङ बोर्डको व्यवस्थापनलाई निरन्तरता दिइरहेको बताए । पर्यटकीय क्षेत्रमा हुनुपर्ने न्यूनतम आधारभूत कुरा गरेर थप आधुनिकीकरण गर्ने परिषद्को लक्ष्य रहेको उनले सुनाए ।

बाह्र वर्षदेखि ठमेलमा पस्मिनाको व्यवसाय गर्दै आएका टीकाराम नेपालले चुनावअघि व्यापार राम्रो भएको सुनाए । “चुनावअघि घर फर्कनेले किनमेल गर्दा व्यापार राम्रो भएको थियो”, नेपालले भने, “तर अहिले आशालाग्दो व्यापार छैन । भाडा तिर्न पनि गाह्रो भएको छ ।” पर्यटकले सम्पूर्ण आवश्यक खर्च गरिसकेपछि बाँकी रहेको रकमले नेपाली सामान सम्झनाका लागि लैजाने गरेको उनको भनाइ छ । विदेशीले नेपालमा उत्पादन भएका सबै चिज मन पराउने उनले बताए ।

नौ वर्षदेखि ठमेलमा हस्तकलाको व्यापार गर्दै आएकी देवकी न्यौपानेले कोरोना महामारीअघि दैनिक १० वटा माला बेचेको र अहिले दुईटा माला पनि बेच्न गाह्रो भएको सुनाए । अहिले व्यापार कम हुनुको कारण विश्वव्यापीरूपमा रहेको आर्थिक सङ्कट भएको उनको भनाइ छ । न्यौपानेले पर्यटकको सङ्ख्या कम भएसँगै व्यापार पनि घटेको बताए ।

चुनावअघि व्यापार राम्रो भए पनि अहिले खर्च धान्नै गाह्रो भएको फोटो व्यापारी देवकी भण्डारीले बताइन् । यस वर्ष नोभेम्बरको अन्तिममा सुरु हुनुपर्ने अफसिजन चाँडै सुरु भएको २२ वर्षदेखि ठमेलमा व्यापार गर्दै आएकी भण्डारीको गुनासो छ । पहिलाको तुलनामा यस वर्ष व्यापार ह्वात्तै घटेको भन्दै उनले भनिन्, “पहिला दिनको आठदेखि दशसम्म फोटो बिक्री गरिन्थ्यो, अहिले दुई–तीनवटा पनि बेच्न मुस्किल छ, घर चलाउनै गाह्रो भएको छ ।”

कोभिड–१९ को महामारीपछि व्यापारले विस्तारै गति लिन थालेको ट्रेडिङ सपका सञ्चालक सुशील पाण्डेले बताए । नेपालमा यो वर्ष गत वर्षको तुलनामा केही मात्रामा पर्यटक भित्रिएको भन्दै उनले अब फेब्रुअरीबाट व्यापार बढ्ने सुनाए । पाँच वर्षदेखि व्यापार गर्दै आएका पाण्डेले दैनिक रु १५ देखि ३० हजारसम्म व्यापार हुने सुनाए । अहिले उत्कृष्ट व्यापार नभए पनि दैनिकी चलाउन पुगिरहेको सुनाए ।

पर्यटन व्यवसायी शिव लामिछानेले पर्यटन क्षेत्र राष्ट्रिय र अन्तर्राष्ट्रियसँग जोडिएको बताए । महामारीपछि ठमेलले पुनःजीवन पाउनेमा आफूहरू आशावादी रहेको भन्दै नेपालको पर्यटनको समग्र विकासका लागि चीन–नेपालको सीमा खुलाउनुपर्नेमा उनले जोड दिए । कोरोना महामारी अगाडिको तुलनामा ३० प्रतिशत पर्यटक मात्र देशमा भित्रिएको मण्डला ह्याण्डीक्राफ्टका सञ्चालक ध्रुव पाण्डेले सुनाए ।

एयरलाइन्सको टिकट महँगो भएकाले विदेशी नेपाल नआएको पनि उनको टिप्पणी छ । पर्यटक नआउँदा स्वतः व्यापारमा कमी आउने उनको भनाइ छ । कोरोना महामारी अगाडि वार्षिकरूपमा नेपालमा १२–१३ लाख पर्यटक आउने गरेको पनि उनले उल्लेख गरे । व्यापारीहरूले सामानको मूल्य आफूखुसी तोक्ने गरेको भन्दै उनले त्यसबारे सरकारले नियमन गर्नुपर्नेमा जोड दिए । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com