Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

वृद्ध दम्पतीको हत्याले गाउँ नै शोकमा

दुई ठूला पहाडको मुनि छ आहाले गाउँ । परबाट हेर्दा जम्माजम्मी छ/सात घर देखिन्छ । एउटा घरबाट उभिएर हेर्दा अर्कोघर मुस्किलले देखिन्छ । यो गाउँ सोमबार बिहानदेखि शोकमय बनेको छ ।

वृद्ध दम्पतीको हत्यापछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ को आहाले गाउँ नै शोकमय बनेको हो । ७४ वर्षीय विष्णुबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगर सोमबार बिहान हत्या गरिएको अवस्थामा भेटिएका थिए । विष्णुबहादुरलाई घर बाहिर खाटमा सुतिरहेकै अवस्थामा निधारमा तिखो हतियार प्रहार गरेर एकै झड्कामा प्राण लिएको देखिन्छ भने निरमायालाई घरभित्रै लछारपछार पार्दै पिटीपिटी हत्या गरेको घटनास्थलको दृष्यले देखाउँछ ।

घटनास्थल पुगेर फर्किएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्री भन्छन्, “हत्या नै भएको हो भन्ने आधार छन्, बोझिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन्छ । के कारण हत्या भयो भन्ने कुरा हामी अनुसन्धानमै छौँ ।” यी दम्पतीको एक छोरा एक छोरी छन् । छोरा बुहारी नै काठमाडौँमा डेण्टल क्लिनिक चलाएर बस्छन् । छोरी ज्वाईँको पनि आफ्नै व्यवसाय छ । शुक्रबार साँझ छोरा कुमारले फोन गरेर स्वास्थ्य चेकजाँचका लागि आमाबुबालाई काठमाडौँ बोलाएका रहेछन् । आमाले अहिले केही समस्या छैन, केही दिनमा काठमाडौँ आउँछु भनेका रहेछन् तर, त्यही शुक्रबार साँझको फोन वार्तालाप नै अन्तिम बन्यो । “शुक्रबार साँझ ७ः३० बजेतिर कुरा गरेको थिए । शनिबार विश्वकप हेर्न लागेकाले गर्दा कुरा गर्ने मेसो मिलेन । आइतबार साँझ फोन गर्दा फोन उठेन, केही बेरमा आमाको मोबाइल अफ भयो”, विष्णुबहादुर र निरमायाका छोरा कुमारले भने, “हत्यारा पत्ता लगाएर कानुनअनुसार कारबाही गरियोस् ।”

छोरा कुमारसँगको कुराकानीअनुसार सधैँजसो आमाबुबाको छोरासँग फोनमा कुराकानी हुन्थ्यो । सन्चो विसन्चोको कुरा हुन्थ्यो । पटकपटक काठमाडौँ आएर बस्नुस् भनेर छोरा कुमारले भनेका पनि रहेछन् । “तर, बूढाबूढी हामी गाउँमै बस्छौँ भन्थे र त्यही झुप्रो घर छोड्न मान्नुभएन”, कुमारले भने, “आज यस्तो भोग्नुपर्‍यो ।”

शुक्रबारको कुराकानी पछि शनिबार छोरा कुमारले फोन नै गर्नुभएन । आइतबार साँझ फोन गर्दा पहिलोपटक फोन उठेन । केहीबेरपछि फोनको स्विच अफ भन्यो । कुनै कारण फोन अफ भयो होला भन्ने सोचे र छोरा कुमारले त्यति खोजी गर्नुभएन । एक्कासि सोमबार बिहान टेलिफोनमार्फत घटना सुनेको कुमारले सुनाए । उनले भने, “हतारिएर घर आइपुग्दा प्रहरी र स्थानीयले घर छेकेर बसिरहेको रहेछ ।”

आइतबार यी दम्पतीलाई छिमेकीले पनि कसैले ख्याल राखेनन् । घरबाहिर पनि देखिएन । सधैँजसो गोठालो जाने, घाँस काट्न जानेसँग पनि आइतबार यी दम्पतीको भेट भएन । आइतबार पनि नभेटेका छिमेकीले सोमबार बिहान घाँस काट्न जाने बेला बोलाउन घर पुग्दा मात्रै दम्पतीलाई मृतावस्थामा फेला पारेको पहिलोपटक घटनास्थल पुग्ने बताउँछन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान, छोरासँग फोनमा भएको कुराकानी र छिमेकीसँगको कुराकानीअनुसार शव सोमबार बिहान भेटिए पनि घटना शनिबार राति नै भएको हुनसक्ने अनुमान लगाउन सकिन्छ । विष्णुबहादुर हुलाक कार्यालयको जागिरबाट पेन्सनवाला थिए । भूकम्पपछि जस्ता र काठको फल्याकले बारेको छाप्रो घरमा नै विष्णुबहादुरको दम्पतीको दैनिकी चलेको थियो । छिमेकीका अनुसार विष्णुबहादुर सधैँजसो घर बाहिर पिँढीमा रहेको खाटमा नै सुत्ने रहेछन् । घटना भएको रात पनि त्यही खाटमा मृत भेटिएको हो । गाउँकै सोझा र भलाद्मी मानिने विष्णुबहादुर दम्पतीको हत्याले अहिले गाउँ नै शोकमा परेको छ ।

मङ्गलबार परिवारले जिल्ला प्रहरी कार्यालयमा घटनाबारे जाहेरी दिएका छन् । घटनास्थलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धानको टोलीले तालिमप्राप्त कुकुरको प्रयोग गरेर अनुसन्धान गरेको छ । घटना भएलगत्तै गाउँ पुगेको जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी निरीक्षक रमेश थापासहितको प्रहरी टोली अहिले पनि घटनास्थलमै बसेर घटनाको सूक्ष्म अध्ययन गरिरहेको छ ।

सोमबार राति सदरमुकाम धादिङबेँसी ल्याइएको दम्पतीको शव मङ्गलबार दिउँसो परीक्षणको लागि काठमाडौँ लगिएको छ । वृद्ध दम्पती मात्रै बस्दै आएको घर यतिबेला सुनसान छ । उनीहरूले पालेको बाख्रा, खसीबोका र भैँसी गोठमै अलजिल्लामा छ । सधैँजसो घरमा काम गरिरहने, घर वरपर देखिइरहने दम्पती नदेख्दा छिमेकीको पनि हातमा काम आएको छैन ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com