Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

राप्तीमा बज्यो आकस्मिक साइरन, नागरिकलाई आश्रयस्थलतर्फ जान अनुरोध

तीन दिनको झरीसँगै शुक्रबार बिहानदेखि परेको भीषण वर्षाले राप्ती नदीको सतह ह्वात्तै बढेको छ।
योसँगै तटीय क्षेत्रका नागरिक त्रसित भएका छन्। वर्षाका कारण राप्ती नदीमा खतराको तह पार भई आकस्मिक साइरन बजेको छ। स्थानीय प्रशासनले बाढी आउने निश्चित भइसकेकाले अग्लो तथा आश्रयस्थलमा जान आग्रह गरेको छ।

वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह आठ मिटर पार गरेको छ। राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ। शुक्रबार बिहान विस्तारै घटे पनि भारी वर्षा भएपछि दिउँसोदखि कुसुममा नदीको सतह अहिले आठ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ।

नदीको बहाव उच्चरूपमा बढेपछि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले शुक्रबार एक सूचना निकालेर नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सूचना जारी गर्दै राप्ती नदी तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरे। प्रजिअ खत्रीले नदी किनारको तल्लो तटीय क्षेत्रमा नदी किनारमा जाने, दाउरा छोप्ने, नुहाउने, माछा मार्नेजस्ता कार्य नगर्न सबैमा आग्रह गरे। साथै होचो तथा डुबान हुने, बाढीको उच्च जोखिम पहिचान भएका समुदाय सुरक्षित स्थान पहिचान भएको आश्रयस्थलमा जानसमेत उनले आग्रह गरे।

राप्ती नदीको माथिल्लो तटीय तथा तल्लो तटीय क्षेत्रसमेतमा भारी वर्षा भइरहेकाले पश्चिम राप्तीमा पानीको सतह थप बढ्ने पूर्वानमान रहेकाले आसपासका नागरिकलाई उच्च सतर्कताका लागि सूचना प्रवाह गरिएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताए।

राप्ती नदीको बाढीले नदी आसपासको क्षेत्र डुडुवा, नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका अधिकांश गाउँ डुबानमा पर्ने गर्छन्।
बाढी र डुबान सुरू भएपछि त्यस आसपास क्षेत्रका सर्वसाधारण त्रसित बनेका छन्। भारी वर्षाले नेपालगन्ज नगरका अधिकांश स्थान जलमग्न भएका छन्। नेपालगन्जको न्युरोड, एमपी स्कुलरोड, फुल्टेक्रा, सेतु विक चोक, धम्बोझी बेलासपुर, कोरियनपुर, कारकादो, रानीतलाउ लगायतका स्थान तथा सडक जलमग्न भएपछि सर्वसाधारणलाई आवत जावतमा समस्या भएको छ।

वर्षाले नरैनापुर, खजुरा, कोहलपुर, जानकी, बैजनाथ गाउँपालिकाका अधिकांश स्थान जलमग्न भएको प्रहरीले जनाएको छ। बाढी र डुबानबाट बचाउन तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको उद्धार टोली खटाई उच्च सतर्कता अवस्थामा राखिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com