Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

एमालेको सहमतिमै नागरिकता विधेयक ल्याइएको हो : गृहमन्त्री

काठमाण्डौ – गृहमन्त्री बालकृष्ण खाणले संविधानमा उल्लेख भएअनुरूप सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउन भन्ने सरकारको एउटै मात्र सदाशयता रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन समितिको आज सोमवारको बैठकमा नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राष्ट्रपतिको सन्देशका विषयमा भएको छलफलमा उहाँले कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले सरकारले विधेयक अघि बढाएको स्पष्ट गर्नुभयो । गृहमन्त्री खाणले भन्नुभयो, ‘विधेयकलाई अनुमोदन गर्ने सन्दर्भमा प्रतिपक्ष मौन रहेर सहमति जनाएको थियो, विधेयक सबैको साथ र सहयोगमा अघि बढाइएको हो ।’
आमा र बाबु नेपाली भएर पनि नागरिकता पाउन नसकेर लाखौँ सन्तति प्रताडित भएको घटना सुनाउँदै उहाँले संविधानको प्रतिज्ञा र प्रतिबद्धताअनुसार अनागरिक बनेकाको माग सम्बोधन गर्न लामो प्रयास भए पनि नसकिएको स्वीकार गर्नुभयो ।

गृहमन्त्री खाणले राष्ट्रपतिको सन्देशमा पनि नेपाली नागरिक नागरिकता प्राप्तिबाट वञ्चित हुनहुन्न भन्नेमा केन्द्रित रहेको बताउनुभयो । बैठकमा यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद देवेन्द्र दाहाल, भगवती न्यौपाने र विमला राई पौडेलले राष्ट्रपतिबाट प्राप्त सन्देश र विधेयकबीच मिलन हुन आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँहरूले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्तिको प्रावधानका विषयमा नेपाली नागरिकलाई स्पष्ट पार्न माग गर्नुभयो । समिति सदस्य प्रमिला कुमारीले नेपाली आमा बाबुका जन्मसिद्ध नागरिकता प्राप्त गर्नुपर्ने ठूलो सङ्ख्यामा युवायुवती अनागरिक भएर बस्नुपरेको बाध्यात्मक अवस्था अन्त्यका लागि अघि बढाइएको विधेयकलाई कहीँ कतैबाट रोक्न नहुने बताउनुभयो ।

अर्का सदस्य जीतेन्द्रनारायण देवले सङ्घीय संसद्का दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पुगेको विधेकका बारेमा राष्ट्रपतिबाट प्राप्त सन्देशमा कहीँ कतै असंवैधानिक र अनुपयुक्त रहेको भन्ने सन्देशमा नपाइएको बताउनुभयो । सन्देशमार्फत राष्ट्रपतिले लैङ्गिक र वैवाहिक अङ्गीकृत नागरिकताका विषयमा सरकार र राजनीतिक दलको सन्देशमा ध्यानाकर्षण गराएको उल्लेख गर्दै उहाँले सन्देशमा आएका विषयमा रचनात्मक बहस उपयुक्त हुने बताउनुभयो ।

यो विधेयक गएको साउन ६ गते सङ्घीय संसद्का दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकामा राष्ट्रपतिबाट साउन २९ गते आठ बुँदे सन्देशसहित प्रतिनिधि सभामा फिर्ता भएको थियो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com