Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

२ महिनादेखि काठमाण्डौ उपत्यकामा थुप्रिएको फोहर उठ्न १० दिन लाग्ने

काठमाण्डौ – दुई महिनादेखि काठमाण्डौ उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ । पटक–पटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन ।

सहरका चोक, गल्लीमा लामो समयदेखि फोहर थुप्रिएको छ । साविक बमोजिम फोहर व्यवस्थापनका लागि स्थानीयवासीले अवरोध नगरे र पानी परेर बाटो बन्द नभए आउँदो १० दिनमा सबै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले पनि काठमाण्डौ उपत्यकाको १८ पालिकामा आठ हजार टिपर फोहर व्यवस्थापन गर्नुपर्ने छ । विना अवरोध नियमित फोहर व्यवस्थापन गर्न सकेको अवस्थामा सबै फोहर व्यवस्थापनमा १० दिन लाग्नेछ । फोहर व्यवस्थापनको सम्बन्धमा बुधवार काठमाण्डौ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि बिहीवारदेखि साविक बमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो ।

पछिल्लो सम्झौताअनुसार फोहरको गाडीबाट लिच्चड चुहाउन पाइने छैन । तर कामपासँग अहिले लिच्चड ट्याङ्क भएको ७५ वटा टिपर छन् । ती टिपरले दैनिक दुई टिप गर्नेछन् भने एक सय ५० वटा लिच्चड ट्याङ्क भएका टिपर भाडामा लिएर प्रयोग गर्ने तयारी रहेको सचिवालय सदस्य लम्सालले बताउनुभयो । सहमतिपछि बिहीवारदेखि नै दुई महिनादेखि टेकु ट्रान्सफर स्टेशनमा थुपारिएको फोहर व्यवस्थापनको काम पनि सुरु भएको छ । त्यो ठाउँमा पनि अझै पाँच सय टिपर फोहर रहेको बताइएको छ । लामो समयदेखि उपत्यकाको १८ पालिकाको फोहर अन्तिम व्यवस्थापनस्थलसम्म लान नपाएपछि कामपाले टेकुमा थुपारी प्लास्टिकले छोपेर राखेको थियो । अहिले सञ्चालनमा रहेको फोहर बोक्ने टिपरको सङ्ख्यामा वृद्धि गरी केही दिनमा नै दैनिक तीन सय वटा गाडीले फोहर विसर्जनको तयारी रहेको छ ।

अहिले उपत्यकाको विभिन्न ठाउँमा अस्तव्यस्त रूपमा रहेको फोहरको विसर्जन हुने बित्तिकै त्यसपछि बञ्चरेडाँडामा लगिने सबै फोहर पूर्णरूपमा वर्गीकरण भएर मात्रै लाने जनाइएको छ । घरबाट फोहर उठाउँदा स्रोतमै वर्गीकरण गर्ने विषयलाई महत्त्वका साथ हेर्ने र तोकिएको बारअनुसार फोहरको वर्गीकरण नभए यसअघि भनेझै कारबाही प्रक्रिया अघि बढाइने कामपाले चतावनी दिएको छ ।

लामो समयसम्म रोकिएको फोहर व्यवथापनका लागि नेपाल टिपर तथा ट्रक व्यवसायी समिति र समानान्तर निर्माण सेवालगायत संस्थाले काठमाण्डौको फोहर अन्तिम व्यवस्थापनस्थलसम्म लानका लागि निःशुल्क सेवा प्रदान गरेका छन् ।

बिहीवार समितिले एक हजार आठ सय वटा टिपर फोहर बोकेर ल्यान्डपिल साइट पुगेका थिए । समानान्तर निर्माण सेवाले पनि पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा टिपर उपलब्ध गराएको समितिका सचिवालय सदस्य रत्नमणि पाठकले जानकारी दिनुभयो । फोहर व्यवस्थापनका लागि अवरोध गर्ने शृङ्खलामा सहयोग गर्न आएका सहयोगीप्रति आभार प्रकट गर्दै कामपाका मेयर साहले फोहर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा सबैले जोड दिन आवश्यक रहेको बताउनुभएको छ ।

उपत्यकाको फोहर व्यवस्थापनको सवालमा सिसडोल, बञ्चरेडाँडाका स्थानीयवासीबीच पटक–पटक सहमति भएको छ । पटक–पटकको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयवासीले समय–समयमा अवरोध गर्दै गर्दा काठमाण्डौमा फोहर थुप्रने गरेको छ । स्थानीयवासीले सहमतिपछि पनि अवरोध गर्ने गरेकाले अहिलेको सम्झौता दीर्घकालीन नभएको भन्दै कामपाले अन्य ठाउँमा फोहर व्यवस्थापन स्थान पहिचानको काम भने जारी राखेको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com