Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

सांसदले भोट हालेर विघटन भयो इजरायलको संसद, तीन वर्षमा पाँचौं पटक आमचुनाव हुने

इजरायलमा फेरि संसद विघटन भएको छ। समाचार संस्था एएफपीका अनुसार इजरायली सांसदहरूले बिहीबार संसद विघटन गर्ने प्रस्तावमा मतदान गरेका छन्।
संसद विघटन भएसँगै इजरायलमा फेरि आमचुनाव हुने भएको छ। नोभेम्बर १ मा चुनाव हुने बताइएको छ।

सन् २०१९ पछि इजरायलमा आम चुनाव हुन लागेको यो पाँचौं पटक हो।
संसद विघटन भएसँगै प्रधानमन्त्री नाफ्टाली बेनेट नेतृत्वको गठबन्धन सरकार ढलेको छ।
यसअघि नै बेनेटले आफूहरूले सरकार जोगाउन नसकेको बताएका थिए।
एक वर्षअघि बेनेटले आठ दल सम्मिलित गठबन्धनको सरकार बनाएका थिए।

राजनीति विचार र नीति तथा कार्यक्रम नमिल्ने दलहरूबीच विभिन्न विषयमा मतभेद रहँदै आएको थियो। पछिल्लो समय गठबन्धनका दुई जना सांसद विपक्षी गठबन्धनमा गएका थिए भने केहीले सरकारले ल्याएका विधेयकका पक्षमा मत हालेका थिएनन्।

सरकार चलाउन कठिन भएपछि बेनेटले संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेका हुन्।
अब अहिलेका विदेश मन्त्री याइर लापिड कामचलाउ प्रधानमन्त्री बन्नेछन्।

सन् २०१९ यता इजरायलमा चार पटक संसदीय चुनाव भइसकेको छ। चुनावबाट कुनै पनि दलले बहुमत ल्याउन नसक्ने र गठबन्धनले बजेट पारित गर्नेलगायत अत्यावश्यक काम गर्न नसक्ने भएपछि इजरायलमा पटक(पटक चुनाव भएको थियो।
पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहुले १२ वर्ष इजरायलको शासन चलाएका थिए।

पछिल्लो समय उनीमाथि भ्रष्टाचारको मुद्दामा छानबिन भइरहेको छ। लामो समय सत्तामा बसेका र भ्रष्टाचारको मुद्दामा छानबिन हुँदा पनि सरकार नछोडेपछि उनलाई सत्ताबाट निकाल्न गत वर्ष राजनीतिक विचार नमिले पनि विपक्षीहरूले गठबन्धन गरेर संसदमा बहुमत पुर्‍याएका थिए।

अहिलेको गठबन्धन बन्दा नै धेरैले यो लामो समय नटिक्ने अनुमान गरेका थिए। सर्वेक्षणहरूले आगामी चुनावमा पनि नेतन्याहुको लिकुड पार्टीले सबैभन्दा धेरै सिट जित्ने देखाएका छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com