Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

लयमा फर्कंदै डोटीको पर्यटन

कोभिड–१९ को सङ्क्रमणका कारण विगत दुई वर्षदेखि थलापरेको यहाँको होटेल तथा पर्यटन व्यवसाय अहिले पुरानै लयमा फर्किन थालेको छ । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम अन्त्य भएसँगै यहाँका पर्यटकीय क्षेत्र तथा होटल पर्यटकले धमाधम भरिन थालेका छन् ।

दुई वर्षदेखि महामारीले शिथिल भएको डोटीको पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्न थालेसँगै यहाँका बजारमा चहलपहल बढ्नुका साथै होटेल, पर्यटन तथा अन्य व्यवसाय सुधारतर्फ फर्किएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताए । उनले भने, “कोरोना महामारीले दुई वर्षदेखि होटेल तथा पर्यटन क्षेत्रमा निकै असर गरेको थियो, अहिले महामारी हटेपछि हाम्रो व्यापार व्यवसाय पुरानै शैलीमा फर्किन थालेको छ, अब यस्तो महामारी नआओस् ।”

जिल्लाका व्यवसायीका अनुसार अहिले जिल्लामा स्वदेशी पर्यटकले गतिविधि चलायमान बनाउनुकासाथै यहाँको प्रमुख पर्यटकीयस्थल खप्तडमा विदेशी पर्यटकको आगमन दरमा क्रमिक सुधार आएसँगै व्यापार व्यवसाय बढ्न थालेको हो । यहाँका होटेल तथा लजमा पछिल्लो समय पाहुना बढेका छन् होटलमा कार्यक्रम आयोजना हुने क्रम बाक्लिएको वर्षा होटल दिपायल पिपल्लाका सञ्चालक गणेशबहादुर बोहराले बताए । “गएको चैत महिनादेखि हाम्रा होटलमा पाहुनाहरूले भरिभराउ भएका छन्, विभिन्न सेमिनार, गोष्ठीले गर्दा व्यापार व्यवसाय पनि राम्रै भएको छ”, उनले भने ।

डोटीसहित समग्र सुदूरपश्चिममा पर्यटन गतिविधि तथा व्यावसायिक क्रियाकलाप चलायमान भएसँगै विगत दुई वर्षको नोक्सानीलाई नाफामा परिणत गर्न सहज हुने पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताए । उनले भने “डोटी मात्र होइन समग्र सुदूरपश्चिममा अहिले स्वदेशी तथा विदेशी पर्यटक भित्रिन थालेका छन्, यसरी नै पर्यटक चलायमान भए कोरोनामा भएको नोक्सानी नाफामा परिणत गर्न सकिने छ ।” अहिलेको समय यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि अति उपयुक्त समय भएकाले पनि जिल्लामा पर्यटकको सङ्ख्या बढेको उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा व्यवसायी नरेन्द्रबहादुर खड्काले बताए । उनले भने, “चैतदेखि असारसम्मको समय खप्तड घुम्ने उपयुक्त समय हो, कोरोना जोखिम टरेकाले अहिले खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या अधिक छ, पर्यटककै कारण यहाँको बजार व्यवसायमा सुधार भएको हो ।”

खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गोपाल घिमिरेले वैशाख महिनादेखि जेठ १० गतेसम्म स्वदेशी तथा विदेशी गरी कम्तिमा पनि एक हजार बढी पर्यटकले खप्तड क्षेत्रको अनुगमन तथा भ्रमण गरी सकेको जानकारी दिए । उनका अनुसार यातायत आवागमनमा पनि सहज भएको र कोरोना जोखिम पनि घटेसँगै अहिले पर्यटकको प्रमुख रोजाइँ खप्तड निकुञ्ज बनेको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com