Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

प्रदेश-१ को नाम पहिचान झल्कने गरी राख्न माग

स्थानीय पहिचानका आधारमा प्रदेश नं १ को नामाकारण गर्नुपर्नेमा सरोकार भएका संघ-संस्थाले आग्रह गरेका छन्।
प्रदेश नं १ को प्रदेशसभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी गरेको सन्दर्भमा सरोकारवालाले त्यस्तो आग्रह गरेका हुन्।

नाकारणका लागि घनिभूत छलफलमा रहेका राजनीतिक दलले पहिचानका विषयमा कुनै चासो नराखेको र सुन्नै नचाहेको उनीहरूको भनाइ छ। विशेषगरी नेपाली कांग्रेस र नेकपा (एमाले) कोशी, सगरमाथालगायत नामाकरण गर्नुपर्ने पक्षमा देखिएका छन् भने नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र लिम्बूवान पक्षधर पार्टीहरू भने पहिचानकै आधारमा हुनुपर्ने तर्क गरिरहेका छन्।

लिम्बूवान किराँत संयुक्त संघर्ष समितिका तर्फबाट शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सरोकारवाला सबै पक्षले पहिचानलाई ख्याल गरेर प्रदेशको नामाकारण गर्नुपर्नेमा जोड दिएका थिए। एमालेसम्बद्ध लोकतान्त्रिक लिम्बू संघका अध्यक्ष त्रिवेणी चोङवाङले प्रदेश नं १ को नाम पहिचानमा आधारित हुनुपर्ने बताए।

नेपाली कांग्रेसका नेता उत्तमसिंह थाङदेनले पनि सो कुराको समर्थन गरे। उनले पहिचानको पक्षमा स्पष्ट भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै त्यसमा अहसमति राख्नुपर्ने कुनै कारण नभएको बताए।

लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले प्रदेशको नामाकरण गणितीय हिसाबले राख्न नहुने बताए। नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङबोले प्रदेश नं १ को नामाकरण निकै जटिल रहेको बताए। प्रदेश सभाको गणितले सहजै नामाकरण गर्न सकिने भए पनि समग्र लिम्बूवान किराँतवासीको भावनालाई कुल्चेर अगाडि बढ्न सहज नभएको उनको भनाइ छ।

किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले प्रदेश नं १ को नाम लिम्बूवान किराँत नै हुनुपर्ने मत राखे। नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने धारणा राखे। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com