Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

अमेजन नदीमा पाइने माछाको प्रजाति नेपालमा पनि भेटियो

मोरङ – मोरङको बेलबारी र धनपालथानमा अमेजन नदीमा पाइने माछाको एक प्रजाति फेला परेको छ । दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम रहेको माछा नेपालमा पहिलो पटक बेलबारी नदीमा चार वर्षअघि देखिएको थियो ।

नयाँ प्रजातिको माछा हुनसक्ने शङ्का लागेर स्थानीय अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनालले यसलाई पछ्याउनु भएको थियो । पछि दुई चिनियाँ अनुसन्धानकर्ता जिनक्वान याङ र चेनहोङ लिको सहयोगमा यो अतिमिचाहा स्वभाव भएको र नेपालका लागि नयाँ प्रजाति रहेको पुष्टि भएको हो ।

यो माछाको बासस्थान, शारीरिक र आनुवंशिक बनोट तथा आनीबानी र नेपालमा पहिलो पटक भेटिएको भन्ने पुष्टिसहित अनुुसन्धानकर्ताले लेखेको लेख ‘बायोइन्भेजन्स् रेकर्डस्’ विज्ञान पत्रिकामा हालै छापिएको छ । लोहन्द्रा खोलाबाट यो नयाँ प्रजातिको माछाका ४३ वटा नमूना सङ्कलन गरिएका थिए ।

हेर्दा आकर्षक लाग्ने, दुई सयदेखि तीन सय ग्राम तौलसम्मका नमूना सङ्कलित भएका थिए । पूर्वी नेपालका तमोरलगायत नदीका ५० ठाउँमा अध्ययन गरिएकोमा लोहन्द्राका दुई ठाउँमा यो प्रजाति र त्यही जातको अर्को प्रजाति दमक क्षेत्रको खोलामा भेटिएको उल्लेख छ ।

अनुसन्धानकर्तामध्येका एक जसहाङ लिम्बूले कसैको एक्यारियमबाट फुत्केर प्राकृतिक नदीमा पुगेको या भारतबाट नदीमा खेल्दै आएको हुनसक्ने बताउनुभयो ।

जताबाट आए पनि यो नेपाल भित्रिएपछि यहाँका रैथाने माछालाई हेप्ने, खानेकुरा खाइदिने, फूल र भुरा खाइदिने गरेको पाइएको छ । यसैका कारण हाम्रा स्थानीय माछाहरु नास हुन सक्ने अनुसन्धानकर्मीको चिन्ता छ । उनीहरुले मिचाहा स्वभाव भएको माछालाई तत्कालै नियन्त्रण गर्न पनि सुझाव दिएका छन् । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com