Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

मिथिला महाकुम्भ आज सम्पन्न हुँदै

यस वर्षको मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदैछ। मिथिलाको महाकुम्भ भनिने १५ रात १६ दिनको यो यात्रा आज जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै समापन हुन लागेको हो।

मधेसको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्र (माझ) मा पारेर एक सय ३३ किलोमिटरको वृत्तमा नाङ्गा खुट्टाले हिँडेर गरिने यो यात्राको अन्तिम कडी अन्तर्गृह परिक्रमा हो।

अन्तिम अर्थात् १५औँ दिनको रात जनकपुरधामको रङ्गभूमि मैदानमा कटाएर १६औँ दिन बिहान अन्तर्गृह अर्थात् पञ्चकोशी परिक्रमा गरिने परम्परा छ। मध्यमा यात्रामा यात्रीले नेपाल भारतका विभिन्न तीर्थस्थलमा १५ रात्रि बास गरेका छन्। नेपालतर्फ धनुषामा ६, महोत्तरीमा पाँच र भारतको मधुवनी जिल्लामा चार रातको बास बस्ने परम्परा छ। फागुन औँसीका दिन सुरु भएको मध्यमा यात्रा आज टुङ्गिँदै छ।

जनकपुरधामस्थित राम जानकी मन्दिर, धार्मिक महत्वका तलाउ, विभिन्न मठमन्दिर र रङ्गभूमिलाई माझमा पारेर जनकपुरधामको पाँच कोश दूरीको वृत्तमा गरिने परिक्रमालाई अन्तर्गृह अर्थात् पञ्चकोशी परिक्रमा भनिन्छ।

मध्यमा (माध्यमिकी) परिक्रमाका यात्रीले १६औँ दिन बिहान यो यात्रा पूरा गर्छन्।

घरव्यवहारको कामले समय निकाल्न नसकेर मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालु पनि अन्तर्र्गृहमा सहभागी हुन्छन्। मध्याह्नपूर्व सम्पन्न गरिने यस यात्रामा एक लाखभन्दा बढीको सहभागिता रहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् (कोष)ले जनाएको छ।

अन्तर्गृह परिक्रमाले आत्मशुद्धि हुने, परमार्थ सुध्रने र पारिवारिक कल्याण भई अन्त्यमा मोक्ष प्राप्त हुने हिन्दू मैथिल जनविश्वास छ। मध्यमा र आजको अन्तर्गृह परिक्रमाका सहभागीले आज बिहानको यात्राकै क्रममा गए राति होलीका दहन गरिएको खरानी उडाउँदै फागु खेल्छन्।

मिथिलामा परिक्रमाको १५औँ दिनको रात ठाउँठाउँमा राक्षसी होलिकाको आकृति बनाइ त्यसलाई दहन गर्ने (आगो लगाउने) र भोलिपल्ट त्यो डढेको आकृतिको खरानी उडाउने चलन छ। यसमा आकृति दहन गर्नुलाई ‘होलिका दहन’ र खरानीको धुलो उडाउनुलाई ‘धुरा उडाउनु’ भनिन्छ। मिथिलामा धुरा उडाएपछि फागु खेल्ने परम्परा छ।

धुरा उडाउने परम्पराभित्र दुई चलन छन्। एकथरि धुरा उडाएपछि फागु खेल्न थाल्छन् भने मिथिलाको मध्यमा परिक्रमा वृत्तभित्र भने धुरा उडाएको अर्थात् अन्तर्गृह परिक्रमा गरिएको भोलिपल्ट फागु खेल्ने चलन छ। यसअनुसार मिथिलामा आज र भोलि दुवै दिन होरी (होली, फागु) खेलिने साहित्यकार डा. राजेन्द्रप्रसाद विमल बताउँछन्। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com