Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

तनहुँमा प्रधानाध्यापक, शिक्षक र कर्मचारीले गरे छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय

काठमाण्डौ – तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आउँदो शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो ।

गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धि र सकारात्मक सन्देश दिनका लागि यस्तो निर्णय भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले  जानकारी दिनुभयो । नयाँ शैक्षिकसत्रदेखि यो निर्णय लागू हुनेछ । गाउँपालिकाका जनप्रतिनिधिले गएको शैक्षिकसत्रदेखि सामुदायिक विद्यालयमा भर्ना गर्ने अभियान शुरु गरेका थिए ।

जनप्रतिनिधिको अभियानलाई साथ दिन प्रधानाध्यापक तथा शिक्षकहरूले निर्णय गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले शुरु गरेको शैक्षिक सुधार अभियानमा शिक्षकहरूले सहयोग गरेर आफूलाई थप हौसला मिलेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धिलगायतका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष चुमानको भनाइ छ ।

गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीतिसमेत ल्याएको छ । त्यस्तै सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नम्बर ४, ५ र ६ का परिवारका लागि पालिकाले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने उहाँले बताउनुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com