Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

मूर्ति सेलाउने विषयमा झडप भएपछि रौतहटकाे ईशनाथमा कर्फ्यु

राैतहट – रौतहटको ईशनाथ नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । हिजो बेलुका ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएको थियो ।

झडपमा केही स्थानीय घाइते भएका छन् । दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो । पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ ।

घिउरा गाउँका स्थानीयले सरस्वतीको पूजा गरेर शुक्रवार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि अर्को पक्षले डिजे बाजा बजाएको भन्दै अवरोध सिर्जना गरेको थियो । त्यसपछि मूर्ति सेलाउन जानेहरुले बाटोमै मूर्ति राखेर बसेका थिए ।

हिजो स्थानीय प्रशासनको रोहवरमा दुवै पक्षलाई राखेर साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएको थियो । सरस्वतीकाे मूर्ति सेलाउन लैजान दिने र डिजे बाजा अर्को बाटोबाट लैजान दिने सहमति भए पनि केही उच्छृङ्खल व्यक्तिहरुले ढुङ्गामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । यस गाउँमा पछिल्लो ५ वर्षदेखि मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदै आएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com