Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

जिल्ला अदालतको फैसला उल्ट्याउने कसरतमा सन्दीप लामिछाने, उच्च जाने अन्तिम तयारी

काठमाडौं- बलात्कारको मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन गर्ने तयारी थालेका छन्। 

जिल्ला अदालत काठमाडौंले फैसलाको पूर्णपाठ सार्वजनिक गरे लगत्तै सन्दीपका कानुन व्यवसायीले उच्च अदालत पाटनमा जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन गर्ने तयारी थालेका थिए।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार फैसलाको पूर्णपाठलाई अध्ययन गरेर उक्त फैसलामा भएका त्रुटिका आधार र सन्दीपले सफाइ पाउनुपर्ने नजिरहरु जम्मा गरेर पुनरावेदन गर्ने अन्तिम तयारीमा रहेको बताए। 

‘हामी  उच्च अदालत जानका लागि अन्तिम तयारीमा छौं। जिल्लाको फैसला बदर हुनुपर्ने आधार र कारणका साथै नजिरहरुलाई लिएर केही दिनमै पुनरावेदन दर्ता गर्छौं,’ घिमिरेले भने, ‘जिल्लाले गरेका फैसलाहरुमा थुप्रै त्रुटि भएका कारण त्यसलाई बदर हुनुपर्ने र लामिछानेले सफाइ पाउनुपर्ने दाबी पेस हुन्छ।’ 

लामिछानेले गरेको दाबीकै आधारमा जिल्लाले युवती नाबालिग नभएको ठहर गरेकाले उनलाई दोषी ठहर गर्नु गलत हुने मुख्य दाबी उच्चमा गर्ने तयारी सन्दीप पक्षले गरेको छ। सन्दीप पक्षले उमेर पुगेका दुई युवा-युवतीका बीचमा भेट हुनु अनि शारीरिक सम्बन्ध राखेमा कानुनले बलत्कार नै हो भनी किटान नगर्ने दाबी गर्ने तयारी गरेको छ। 

निवेदक पक्षले पुनरावेदनको तयारी गरेको छ भने जिल्ला सरकारी वकिल कार्यालयले पनि पुनरावेदनको तयारी गरेको छ। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले लामिछानेको मुद्दा पुनरावेदन जाने तयारी सुरु भएको बताए। उनले जिल्ला सरकारी वकिल कार्यालयले पुनरावेदनको मस्यौदा तयार गरिरहेको जानकारी दिए। 

उनले मस्यौदा तयार भएपछि उच्च सरकारी वकिल कार्यालय पठाउने बताए। उच्च सरकारी वकिल कार्यालयका प्रमुख शंकर खत्रीले जिल्ला सरकारी वकिल कार्यालयबाट मस्यौदा पर्खेर बसेको बताए। जिल्लाबाट मस्यौदा प्राप्त भए लगत्तै पुनरावेदन गर्ने तयारीमा आफूहरु रहेको उनले बताए।  

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो। 

जिल्ला अदालतले बुधबार सजाय निर्धारण गरेपछि क्यानले बिहीबार उनलाई निलम्बन गरेको हो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति जारी गर्दै अदालतको फैसला अनुसार सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जनाएका छन्। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको पुस १३ गतेको इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो। अदालतले बुधबार सन्दीप विरुद्ध ८ वर्ष कैदसँगै ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो। 

सन्दीपले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर थियो।

एक किशोरी (युवती)ले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक-पटक बलात्कार गरेको भन्दै २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालमा सन्दीप विरुद्ध जाहेरी दिएकी थिइन्। 

पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोट समेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको बताएकी थिइन्। 

पीडित किशोरीको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी अभियोगपत्रमा गरिएको थियो। 

सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीले बयान दिएकी थिइन्। बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँच समेत गराएको थियो। 

पीडित  किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत नजिकिएका थिए। स्न्याप च्याटमार्फत चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ। 

आफ्नो कारमा राखेर सन्दीपले ती किशोरीलाई भदौ ५ गते ६ बजेतिर काठमाडौंबाट भक्तपुरतिर लगेको बताइएको छ। त्यसपछि आफूहरु नगरकोटसम्म पुगेको पीडित किशोरीले बयानमा बताएकी थिइन्। नगरकोटमा सन्दीपले मदिरा सेवन गरेको र त्यहाँबाट फेरि काठमाडौं फर्किएको किशोरीको भनाइ छ।

काठमाडौं आइसक्दा रातिको ११ बजिसकेको र होस्टल (छात्राबास) बन्द हुने भन्दै एक होटलमा कोठा बुक गरेर उनीहरु बसेका थिए। सोही होटलको कोठा नम्बर ३०५ मा सन्दीपले आफूमाथि बलात्कार गरेको पीडित किशोरीले बयानका क्रममा बताएकी छन्। 

उक्त घटना लगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नर्फिकएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस नै जारी भएको थियो। त्यसपछि सन्दीप असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए।

प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर उनीमाथि बलात्कारको अनुसन्धान अघि बढाइएको थियो। मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश सुनाएको थियो। 

जिल्ला अदालतको आदेशपछि केही महिना थुनामा बसेका सन्दीप उच्च अदालत पाटनको आदेशपछि सर्तसहित थुनामुक्त भएका थिए। 

यद्यपि, विदेश जान नपाउने उच्च अदालतको सर्त सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। उच्च अदालतको आदेशपछि थुनामुक्त भएर क्रिकेट टिममा फर्किएका सन्दीप सर्वोच्चको आदेशपछि क्रिकेट खेल्नका लागि विदेश समेत पुगेका थिए। नेपाल लाइभ

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com