Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

विश्वपरिवेशलाई ध्यान दिएर टेलिकमले सेवाको गुणस्तर बढाउनुपर्छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमले विश्वपरिवेशलाई ध्यान दिएर ग्राहकहरूलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरी आफ्नो नीति, योजना तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएकी छिन्।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपाल टेलिकम सरकारको अधिकांश स्वामित्व भएको संस्था भएकाले सरकारको उद्देश्य र कार्यक्रमलाई अवलम्बन गरी सूचना प्रविधिको तीव्र विकास भइरहेको विश्वपरिवेशमा ग्राहकहरूलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरी आफ्नो नीति, योजना तथा कार्यक्रमको सञ्चालन गर्नुपर्ने बताएकी हुन्।

फोरजी सेवाको विस्तार र यसको उपयोगमा उल्लेखनीय वृद्धि, अप्टिकल फाइबर योजनाहरू यथाशीघ्र सम्पन्न, सेवाको गुणस्तरमा उल्लेखनीय वृद्धिमा जोड दिँदै एफटिटिएच व्यवसायको आक्रामक विस्तार, आय चुहावटको नियन्त्रण, एसएमएस गेटवे उचित दरमा दिने गरी विस्तार गर्न आग्रह गर्दै मन्त्री शर्माले पूर्वाधार कम्पनी, आइटी कम्पनी स्थापनाका साथै नमस्ते पेको व्यापारमा विस्तार गर्नेबारे आवश्यक गृहकार्य गर्न पनि टेलिकमलाई आग्रह गरिन्।

यसबाहेक कम्पनीमा भइराखेका अनुत्पादक खर्च नियन्त्रण गर्न र कम्पनीको हालको अवस्थाअनुसार कम्पनीले आगामी दिनहरुमा लिने पहलहरूमा सूक्ष्म रूपमा अध्ययन गरेर बजारको आजको अवस्था र आगामी दिनमा आइपर्ने कुरालाई ध्यानमा राखी दीर्घकालीन व्यावसायिक योजना तयार गर्न पनि उनले टेलिकमलाई आग्रह गरिन्।

यो वर्ष सस्तो दरमा इन्टरनेटको अन्तर्राष्ट्रिय ब्यान्डविथ सेवा खरिद भएको जानकारी दिँदै मन्त्री शर्माले भनिन्, ‘तर, हामी यतिमै सन्तुष्ट हुने अवस्था छैन। हामीले अघि सारेका सेवाप्रवाहमा सुधार र आय वृद्धिका कार्ययोजनाहरूको प्रगतिको पनि स्मरण र मूल्यांकन गर्ने वेला हो। हासिल हुन नसकेको बाँकी उपलब्धिको कारण पहिल्याई कमी–कमजोरीमा सुधार गरी थप कार्ययोजना र ऊर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ।’नयाँ पत्रिका

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com