Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

… अनि काठमाडौंबाट प्रचण्डले रेनुलाई फोन गरे

बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौंबाट फोन गयो । फोनको सन्देशमा नेपाल सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारको निर्णय गरेको कुरा रहेछ । रेनु आफ्नो कुर्सीबाटै जुरुक्क उठिन् र हर्षित हुँदै धन्यवाद व्यक्त गरिन् ।

काठमाडौंबाट फोनमा थिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । सम्वाद बाबुछोरीको थियो । रेनुले फोनबाट धन्यवाद पनि आफ्ना पिता प्रचण्डलाई नै दिएकी थिइन् । तर यो संवादले भरतपुर विमानस्थललाई ठूलो जहाज बस्नेगरी विस्तार गर्ने सरकारको निर्णयको खुसीको खबर बोकेको थियो । जुन काम रेनुको अघिल्लो कार्यकालदेखिकै सपना थियो ।

कार्यकक्षमा पुगेका सञ्चारकर्मीसँग रेनुले भनिन्, ‘मैले पहिलो कार्यकालको सुरुआतमै राखेको ‘एजेन्डा’ थियो यो । आज सरकारले निर्णय गरेपछि आफ्नो वाचा र चितवनका जनताको माया अकस्मात सम्झिएँ र निकै खुसी भएँ ।’

निरन्तर लागेर छ वर्षपछि मन्त्रिपरिषदबाट निर्णय गराउन सफल हुँदा निकै खुसी लागेको उनले बताइन् । ‘नेपाली सेनाको घोडा प्रजनन केन्द्र शक्तिखोर स्थानान्तरण गरेर विमानस्थलको धावनमार्ग विस्तार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । अब यो निर्णयलाई साकार पार्न यसअघि र अहिलेजस्तै चितवनका सबै नागरिकको साथ र सहयोग आवश्यक छ,’ रेनुले भनिन् ।

हालका पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसहित ६ वर्षमा छजना मन्त्रीसँग विमानस्थल विस्तारका लागि छलफल गरेको रेनुले सुनाइन् । आफ्नो मोबाइलमा तस्बिर देखाउँदै उनले भनिन्, ‘जिल्लाका सरोकारवालालाई जम्मा गरेर धेरै पटक बैठक बसियो । कहिले निराशा त धेरै आशा नै पलाएको हो । मलाई लाग्छ त्यसैले आज यो निर्णय हुन सकेको छ ।’

विमानस्थल विस्तार भएपछि ठूला जहाज उडान भर्न सक्नेछन् । रात्रिकालीन उडानसमेत हुनेछन् । यससँगै सस्तो मूल्यमा यात्रुले टिकट पाउनेछन् । अहिले भरतपुर–काठमाडौंको हवाई टिकट चार हजार आठ सय हाराहारी पर्दछ । यकिन नभए पनि ठूला जहाज उड्दै गर्दा तीन हजार हाराहारीमा टिकटको मूल्य झर्ने अनुमान छ । ‘बिहान काठमाडौं गएर दिनभरि काम गरेर साँझ फर्किन सकिन्छ,’ रेनु भन्छिन् ।

दुई साताअघि भरतपुरस्थित नेपाली सेनाको ब्यारेकमा आएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले रेनुलाई बोलाएका थिए । संयोग त्यतिबेला उनी काठमाडौं थिइन् । विमानस्थल विस्तारका लागि सकारात्मक पहल गर्न खड्काले रेनुलाई बोलाएका थिए ।

रेनु निरन्तर विमानस्थल विस्तारका लागि पहल गरिरहँदा प्रधानमन्त्री प्रचण्ड यसलाई सार्थक बनाउन लागिपरेका थिए । रक्षा मन्त्रालय, नेपाली सेना, पर्यटन मन्त्रालय सबैलाई समेटेर यो काम गर्नुपर्ने अवस्था थियो । ‘धेरैपटक म महानगरपालिकाको निर्णय बोकेर मन्त्री र प्रधानमन्त्री कार्यालयमा पुगेकी छु’, रेनु भन्छिन्, ‘पर्यटन र रक्षा मन्त्रालयमा धेरै पटक छलफल गर्‍यौँ ।’

भरतपुर विमानस्थलमा टर्मिनल भवन बन्दै गरेकाले अबको केही समयमै नयाँ टर्मिनल र ठूला जहाज अवतरण हुने विमानस्थल बन्ने उनी बताउँछिन् । यथासक्य छिटो विमानस्थल विस्तार गर्नुपर्नेमा उनको जोड छ । ‘चितवनबासी मात्रै होइन, छिमेकी जिल्लाका बासिन्दालाई पनि विमानस्थल विस्तार हुँदै गर्दा प्रत्यक्ष फाइदा पुग्छ,’ उनी भन्छिन् । नवलपरासीको दाउन्ने पूर्वदेखि हेटौँडासम्मका बासिन्दाको पायक विमानस्थल यही नै हो ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य भएकाले चितवन आउने पर्यटकका लागि विमानस्थल महत्त्वपूर्ण हुने रेनुको भनाइ छ । ‘हामीले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला बनाउँदैछौँ, देश विदेशका खेलाडी र दर्शक यहाँ आउँछन् । त्यसका लागि पनि विमानस्थल विस्तार आवश्यक थियो,’ उनले भनिन् ।

भरतपुरको नेपाली सेनाको ब्यारेक विमानस्थलसँग जोडिएको छ । ब्यारेकमा ७० बिगाहा आठ कठ्ठा चार धुर जग्गामध्ये १९ बिगाहा चार कठ्ठा चार धुर विमानस्थल विस्तारका लागि आवश्यक पर्ने देखिएको छ । यससँगै यहाँको घोडा प्रजनन केन्द्रलाई जिल्लाकै कालिका नगरपालिकाको शक्तिखोरस्थित ब्यारेक हाताभित्र स्थानान्तरण गरिने उनले बताइन् ।

यो विमानस्थल २०१५ सालमा स्थापना भएर २०१८ सालदेखि सञ्चालन हुँदै आएको हो । विमानस्थलको हाल कूल क्षेत्रफल ६२ बिगाहा रहेको छ जसमा एक हजार दुई सय मिटरमात्र धावनमार्ग छ । यो विमानस्थलबाट अहिले काठमाडौं र पोखरा उडान हुँदै आएको छ । छोटो धावन मार्गका कारण साना जहाज दिउँसोमा मात्रै उडान हुँदा महँगो भाडा तिर्नुपर्ने बाध्यता छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com