Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

दरबार हत्याकाण्डबारे बोल्दा गिरिजाबाबुले मलाई सोध्नुहुन्थ्यो, प्रचण्डजी सल्लाह नगरी बोल्नुहुन्छ: माधव नेपाल

facebook sharing button
sharethis sharing button

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सल्लाह नगरी बोल्ने गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दरबार हत्याकाण्डबारे बोल्दा आफूसँग सोध्ने अध्यक्ष नेपालको भनाइ छ।

जनकपुरधाममा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्री प्रचण्डजीले यस्ता विषयमा सल्लाह नगरी बोल्नुहुन्छ, मसँग नै सोधे पनि हुन्थ्यो नि!, कमसेकम गिरिजाबाबुले मलाई सोध्ने गर्नुहुन्थ्यो, के गर्ने माधवबाबु भन्ने गर्नुहुन्थ्यो।’

यो पनि: दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री 

कुनै पनि विषयमा प्रधानमन्त्री प्रचण्ड अलि छिटो बोल्ने गरेको अध्यक्ष नेपालको भनाइ छ।

‘यस्ता कुराहरूका बारेमा अलि सरसल्लाह गरेर गरे राम्रो हुन्थ्यो,’ उनले भने, ‘हामीसँग कुनै सल्लाह भएको छैन। हाम्रो प्रचण्डजी अलि छिटो बोल्ने गर्नुहुन्छ।’

प्रधानमन्त्री प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डबारे छानबिन हुने अभिव्यक्ति दिएका थिए।

गत माघ १५ गते बाराको सिमरा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले २०५८ जेठ १९ गते राति नारायणहिटीमा भएको तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश घटनाबारे छानबिन हुने बताएका थिए।

‘पूर्वराजा (ज्ञानेन्द्र शाह) ले जे बोलेका छन्, बोल्नै नहुने कुरा बोलेका छन्। दरबार हत्याकाण्डबारे फेरि एकचोटी छानबिनतिर सरकार अगाडि बढ्दैछ,’ प्रधानमन्त्री प्रचण्डले भनेका थिए।

त्यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहले वीरगञ्जमा भएको कार्यक्रममा ०५८ सालमा भएको दरबार हत्याकाण्डबारे बोलेका थिए।

‘२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीका मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको थियो,’ पूर्वराजा शाहले भनेका थिए।

आफूहरूलाई त्यसबेला घातक प्रहार भएको पूर्वराजा शाहले बताए। 

‘सत्य सधैं सत्य हुन्छ। असत्यको विजय कहिल्यै हुँदैन,’ उनले भने, ‘हाम्रामाझ प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो।’

पूर्वराजा शाहले दरबार हत्याकाण्डबारे अभिव्यक्ति दिएपछि (नेकपा एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कुशको मात्र राजा रहेको टिप्पणी गरेका थिए। 

‘ज्ञानेन्द्र शाह भनेको राजा होइन। बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी कुशका राजा हुन्,’ गत आइतबार काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले भने, ‘अब यस्ता कुरामा के बहस गरिरहने बेकार।’ सेतोपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com