Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

भारतमा एकैदिन विपक्षी दलका ७८ जना सांसद निलम्बित

भारतको संसदबाट एकैदिन ७८ जना विपक्षी सांसदहरू निलम्बनमा परेका छन् । लोकसभाका ३३ र राज्यसभाका ४५ जना सांसदहरू निलम्बित भएका हुन् । संसदमा भएको सुरक्षा गल्तीका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको जवाफ मागेर विपक्षी सांसदहरूले लगातार विरोध गर्दै आएका थिए ।

विपक्षीको विरोधका कारण बैठकमा अवरोध हुँदै आएको थियो । सरकारको प्रस्तावमा दुवै सभाका अध्यक्षहरूले संसदमा विरोध प्रदर्शनमा उत्रिएका विपक्षी दलका सांसदहरूलाई हिजो निलम्बन गरेका हुन् ।

जारी संसद्को शीतकालीन सत्रभरका लागि सांसदहरूलाई निलम्बन गरिएकाे बीबीसी हिन्दीले जनाएको छ । लोकसभामा विपक्षी दलका नेता कांग्रेस सांसद अधिर रञ्जन चौधरी पनि निलम्बित हुनुभएको छ । गएको बुधवार दुई जना युवाहरू दर्शकदीर्घाबाट बैठक चलिरहेकै बेला संसद् कक्षमा कुदेर प्रदर्शन गरेका थिए । उनीहरूले संसदमा पहेँलो रंगको धुवाँ  फैलाएका थिए ।

संसद् भवनमा आतङ्कवादी हमला भएको २२ वर्ष पुगेकै दिन पाँच तहको सुरक्षा व्यवस्थालाई झुक्याएर दुई युवाले संसद् बैठक कक्षमै प्रदर्शन गरेका हुन् । यसअघि २००१ को डिसेम्बर  १३ मा संसद् भवनमाथि आतङ्कवादी हमला भएको थियो । त्यही दिन पारेर भएको नयाँ घटनालाई विपक्षी सांसदहरूले संसद्को सुरक्षामा ठूलो गल्ती भएको भन्दै सरकारमाथि प्रश्न उठाइरहेका छन् ।

प्रदर्शन शुरु भएकैदिन लोकसभाबाट १३ र राज्यसभाबाट १ जना गरी १४ सांसदलाई निलम्बन गरिएको थियो । हिजो समेत गरी लोकसभाबाट ४६ र राज्यसभाबाट ४६ गरी ९२ जना सांसद निलम्बित भएका छन् ।  एजेन्सी
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com