Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

हुम्ला अस्पतालमा औषधि अभाव

twitter sharing button

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । यहाँ तीन महिनादेखि औषधि अभाव हुँदा जटिल रोगका बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले बताए । “जिल्ला अस्पतालको औषधि स्टोर कक्ष तीन महिनादेखि रित्तै छ । प्रदेश सरकारले खरिद प्रक्रियामा ढिलाइ गर्दा औषधि अभाव भएको हो”, उनले भने

प्रमुख सिंहका अनुसार उपचार गर्न आउने अधिकांश बिरामी औषधि नपाएर रित्तै फर्किने गरेका छन् । सिमकोट र नाम्खा गाउँपालिकास्थित स्वास्थ्य चौकीबाट सापटी मागेर बिरामीको उपचार गर्नुपरेको उनको भनाइ छ । प्रदेश सरकारलाई औषधि अभावबारे पटक–पटक जानकारी गराएको भए पनि हालसम्म सुनुवाइन नभएको प्रमुख सिंहले बताए । दुई–तीन पटक मन्त्रालयमा गएर यसबारे जानकारी गराउँदा पनि सुनुवाइ नभएको उनको भनाइ छ । पन्ध्र शय्याको जिल्ला अस्पतालमा यसबाट बिरामी मारमा परेका छन् । सापट मागेर बिरामीको उपचार

केही दिनअघि विष सेवन गरेका सिमकोट गाउँपालिका–१ का वीर भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइयो । औषधि अभावका कारण सामान्य उपचार गरी नेपालगञ्ज पठाइएको अस्पतालले जनाएको छ । 
अस्पतालमा अभाव भएपछि बिरामीले निजी क्लिनिकबाट औषधि किन्नुपर्ने बाध्यता रहेको खार्पुनाथ गाउँपालिका–४ का प्रजित रोकायाले बताए । यस्तै श्रीमतीको उपचार गर्न जिल्ला अस्पताल आएका सर्केगाड गाउँपालिका–२ का मनसिंह कार्की पनि निजी क्लिनिकबाट महँगोमा औषधि किन्नु परेको बताउँछन् ।
रुघाखोकीका बिरामी बढ्दै
जिल्ला अस्पतालमा रुघाखोकी र श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढ्न थालेको छ । मौसममा एक्कासी आएको परिवर्तनका कारण बिरामी दैनिक बढिरहेका अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् । 
“दैनिक ८० देखि ९० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् । जटिल प्रकृतिका बिमारीलाई भर्ना गरेर राख्नुपर्ने भएपनि शय्याको अभाव हुन थालेको छ”, उनले भनिन् । सङ्ख्या बढेपछि भुइँमा राखेर बिरामीको उपचार गर्नुपरिरहेको बोहराले बताइन् । 
प्रदेश सरकारबाट उपलब्ध रू १० लाख बराबरको औषधि दुई महिनाभन्दा बढी समयलाई नपुग्ने अस्पतालका स्टोरकिपर मनिकृष्ण जैसीले बताए । बजेट अभावका कारण औषधि खरिद गर्न नसकिएको उनले बताए ।  रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com