Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

भूकम्प प्रभावित जाजरकोटको घुयलनेटासहित केही गाउँमा झाडापखालाकाे सङ्क्रमण देखियाे

जाजरकाेट – भूकम्प प्रभावित जिल्ला जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा गाउँमा झाडापखालाको सङ्क्रमण देखिएको छ ।

त्रिपालमा बस्दै आएका ५० जनाभन्दा धेरै भूकम्पपीडितलाई झाडापखाला देखिएको वडा सदस्य नैनबहादुर विकले बताउनुभयो । उहाँका अनुसार भूकम्पपछि त्रिपालमा बस्दै आएका पीडितलाई दुई/तीन दिनयता पखालाले सताइरहेको छ । गाउँमा झाडापखाला देखिएपछि बालबालिका र वृद्धावृद्धा अलि धेरै जोखिममा छन् ।

उपचारका लागि सम्बन्धित निकायमा खबर गर्दा पनि अहिलेसम्म कोही नपुगेका र बिरामी त्रिपालमै रहेका वडासदस्य विकले बताउनुभयो । घुयलनेटाका साथै डौरीकाँडा, भुनलगायत गाउँमा पनि पखालाका बिरामी देखा परेका छन् । एक सय जनाभन्दा धेरै घरधुरी रहेका ती गाउँमा धेरैजसोलाई चिसोले सताएको छ।

आफू दुई दिनदेखि पखालाले थला परेको र छ वर्षको छोरालाई पनि पखाला लागेको स्थानीय धर्मशीला विकले बताउनुभयो । नजिकमा स्वास्थ्य संस्था नहुँदा बिरामीको उपचारमा समस्या परेको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. प्रतीक्षा भारतीका अनुसार हिजो दिउँसो २ बजेपछि घुयलनेटा गाउँमा झाडापखाला तथा वान्ताले धेरैलाई बिरामी पारेको जानकारी आएको र अलि विकट ठाउँ हुनाले तत्काल जान नसकेको बताउनुभएको छ ।

आज औषधि र स्वास्थ्यकर्मीसहितको टोली प्रभावित क्षेत्रमा पुग्ने पनि डा. भारतीले बताउनुभयो । त्यहाँ पुगेपछि मात्र बिरामीको सङ्ख्या र अवस्था जानकारीमा आउने उहाँको भनाइ छ ।  रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com