Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

तरकारी बिक्री नभए गाउँपालिकाले जिम्मा लिने भएपछि आँबुखैरेनीका किसान उत्साहित

तनहुँ – आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीकाे लाब्दी भोटेस्वाँरामा उत्पादित साग र गुन्द्रुक स्थानीय बजारमा खपत हुँदै आएको छ ।

यस क्षेत्रमा उत्पादित साग र गुन्द्रुक स्थानीय आँबुखैरेनी बजारमा सहजै बिक्री हुँदै आएपछि यहाँका किसान खुशी भएका छन् । किसानले उत्पादन गरेका तरकारी बिक्री नभएमा गाउँपालिकाले जिम्मा लिने जनाएपछि यहाँका किसान व्यावसायिक उत्पादनमा लागेका हुन् ।

समुद्र सतहदेखि झन्डै दुई हजार मिटर उचाइमा रहेको यस ठाउँमा रैथाने अर्गानिक रायो साग खेती गरिएको हो । यस वडाका २० घरधुरीले झन्डै ३० रोपनी क्षेत्रफलमा साग खेती गरेका स्थानीय किसान आशिक गुरुङले जानकारी दिनुभयो । सागको प्रतिमुठा ५० र गुन्द्रुकको प्रतिमुठा एक सय रुपैयाँमा बिक्री गर्ने गरिएको छ । उपभाेक्ताले याे मूल्यमा खुशी भएर लैजाने गरेका छन् ।

दैनिक दुई/तीन सय मुठा साग बिक्री हुँदै आएको किसानहरू बताउँछन् । गाउँपालिकाले बिक्री गर्न थालेपछि व्यावसायिक खेतीतर्फ किसान आकर्षित भएका स्थानीय किसान एवम् वडा सदस्यसमेत रहनुभएका लक्ष्मण गुरुङले बताउनुभयो ।

आफूले यस वर्ष पाँच रोपनी बढी क्षेत्रफलमा साग खेती गरेर उत्पादन गरेसँगै बिक्रीको समस्या नरहेको उहाँले जानकारी दिनुभयो । शुरुमा आफ्नो परिवारका लागि खेती गर्ने गरिए पनि गाउँपालिकाले संरक्षण गर्ने भएपछि स्थानीय किसान उत्साहित भएर लागेका हुन् ।

झन्डै १५ दिनको अवधिमा एक लाख रुपैयाँ बढीको साग र गुन्द्रुक बिक्री गरिसकिएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । उत्पादित साग दैनिक तरकारी पसलमा बिक्री गर्ने गरिए पनि हप्तामा एक दिन आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको हाटबजारमा बिक्री गर्न थालिएको छ । शुरुमा थोरै जग्गामा खेती गरिए पनि अहिले कृषिलाई प्रवर्द्धन गर्न व्यावसायिक रूपमा अघि बढाइएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

किसानले उत्पादन गरेका वस्तु स्थानीय जनप्रतिनिधिको समन्वयमा बजारसम्म पुर्‍याउन सहजीकरण हुँदै आएको छ । किसानले उत्पादन गरेका वस्तुले बजार पाएन भने गाउँपालिकाले जिम्मा लिने प्रतिबद्धता जनाएपछि किसान उत्साहित भएर उत्पादनमा लागेका आँबुखैरेनी कृषि शाखाका प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो ।

गाउँपालिकाले किसानलाई बिउमा अनुदानका साथै बजारमा बिक्री नभएको अवस्थामा आफूले जिम्मा लिने प्रबन्ध मिलाइएको छ । चिसो मौसममा गुन्द्रुक फाइदाजनक हुने भएकाले माग बढ्न थालेकाे छ । माग बढेपछि गुन्द्रुक बनाउन थालिएको छ । यहाँको गुन्द्रुक अमिलो र स्वादिष्ट हुने भएकाले अत्यधिक माग बढेको किसान बताउँछन् ।

स्थानीय किसानलाई उत्पादनसँग जोड्दै आयआर्जमा सबल बनाउने योजना अनुरूप ठाउँ र हावापानी सुहाउँदो खेतीलाई प्रवर्द्धन गर्दै आएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com