Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

रुकुम पश्चिममा अस्थायी आवास बनाउन माओवादीका ३ हजार स्वयंसेवक परिचालित

१३ मंसिर, रुकुम पश्चिम । रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउन ३ हजार स्वयंसेवक परिचालन गरिएको माओवादी केन्द्रले जनाएको छ । स्वयंसेवक परिचालनको नेतृत्व माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले गरेका छन् ।

अहिले भूकम्पले बढी प्रभावित आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा स्वयंसेवक टोली केन्द्रित भएको छ । त्यहाँको काम सकिएपछि कम प्रभावित अन्य पालिकामा टोलीलाई खटाउने योजना छ ।

माओवादी केन्द्रका उपमहासचिव शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य तथा बाग्मती प्रदेशका इञ्चार्जको जिम्मेवारीमा छन् । उनले बागमती प्रदेशका नेता कार्यकर्तासँग केही दिनको बिदा लिएको र गृह जिल्लामा स्वयंसेवक दलको संयोजक बनेर अस्थायी आवास निर्माणमा खटिएको बताए ।

पश्चिम रुकुममा २६ हजार घर पुनर्निर्माण गर्नुपर्ने भएपनि अस्थायी आवास भने १६ देखि २० हजार जति निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणका लागि नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी लगायत दलका नेता–कार्यकर्ताहरु पनि खटिएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास छिटो पुनर्निर्माण गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पनि खटाउने निर्णय गरेको छ ।

गत कात्तिक १७ गते मध्यरातमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिमका बस्ती तहसनहस बनाएको छ ।

राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रको विवरण अनुसार भूकम्पबाट जाजरकोटमा १०१ जनाको मृत्यु र १४५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ५४ जनाको मृत्यु र २०२ जना घाइते भएका छन् । यसैगरी जाजरकोटमा ३४ हजार ५०१ वटा घरमा क्षति पुग्दा रुकुम पश्चिममा २६ हजार ५३१ घर क्षतिग्रस्त भएका छन् । घरबारविहीन भएकाहरु खेतबारी, सडक किनार र खुला चौरहरुमा त्रिपाल टाँगेर बसिरहेका छन् ।

भूकम्प गएको भोलिपल्टदेखि नै गृह जिल्ला रुकुम पश्चिममा केन्द्रित भएका शर्माले वर्षायाम सुरु हुनुभन्दा अघि नै पीडितहरुलाई नयाँ घरमा सार्ने योजनाअनुसार काम भइरहेको बताए । ‘पुनर्निर्माणका काम दुई चरण हुनेछन् । पहिलोमा अस्थायी टहरा निर्माण गरिने छ । टेम्पोररी लिभिङ सेन्टर (टि.एल.सी.) अर्थात अस्थायी छानाहरुले नयाँ घर नबनेसम्मको समयलाई आश्रय दिनेछन् र दोस्रोमा भूकम्प प्रतिरोधी नयाँ घरहरु बनाउनुपर्ने छ,’ उनले भने ।अनलाइन खबर

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com