Yeti Khabar

२०८१ बैशाख २३, आईतवार - Sun May, 2024 -

पोखरा महानगरपालिकामा सडक किनारका रुख काट्नेलाई जरिबाना

कास्की – पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख अनुमतिविना काट्नेलाई जरिबाना तिराएको छ । महानगरले पोखरा–८ न्युराेडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई पसलेलाई कारबाही गरेको हो ।

फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काइ फेसनलाई महानगरपालिकाको आर्थिक ऐन, २०८० मा भएको व्यवस्थाअनुसार कारबाही गरिएको महानगरपालिकाले जनाएको छ । पसल छेकिएको जनाउँदै अनुमतिविना रुख नै काटेका उनीहरूलाई १५ हजार रुपैयाँका दरले जरिबाना गरिएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिनुभयो ।

महानगरको आर्थिक ऐनमा सडक छेउको फुटपाथमा लगाइएका रुखको हाँगा अनुमतिविना कटान गरेमा प्रतिहाँगा पाँच हजार र रुख नै काटेमा १५ हजार रुपैयाँ जरिबाना हुने व्यवस्था गरिएको छ ।

महानगरपालिकाले आफ्नो चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै पोखरामा एक घर दुई बिरुवाको नीति लिएको छ । चालु वर्षमा दुई लाख बिरुवा रोप्ने पनि घोषणा गरिएको छ । महानगरले वृक्षरोपण कार्यलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको छ । 

पोखरा महानगरपालिकाले पछिल्लो डेढ वर्षमा हजारौँ बिरुवा रोपेको छ भने त्यति नै सङ्ख्यामा फूलका बिरुवा रोपिएका छन् । ‘पर्यटनका लागि जैविक विविधतायुक्त सहर’को नारासहित हरियाली विकास गर्न महानगरपालिकाका सडक तथा सिमानामा रहेका गाउँपालिका केन्द्र जोड्ने सडकको दायाँबायाँ वृक्षरोपण गर्ने कार्यक्रम महानगरको छ ।

सडक छेउमा लगाइएका बिरुवाको संरक्षण गर्न नगरवासीमा मेयर धनराज आचार्यले अनुरोध गर्नुभएको छ । पर्यावरणको सन्तुलनमा रुख बिरुवाको निकै महत्त्वपूर्ण भूमिका रहने जनाउँदै आफ्ना घर अगाडिका बिरुवा तथा फूलहरूको संरक्षणका लागि उहाँले महानगरवासीमा आग्रह गर्नुभएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com