Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

भूकम्पकै बिच अमेरिकाको घुमघाममा हिँडे लुम्बिनीका मुख्यमन्त्री !

sharethis sharing button

काठमाडौँ । शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प जाँदा त्यसको असर लुम्बिनी प्रदेशसम्म परेको छ । भूकम्पबाट लुम्बिनी प्रदेशको रोल्पामा २ जना घाइते भएका छन् । यसैगरी प्युठानमा ३ जना घाइते हुँदा अर्घाखाँचीमा पनि एक जना घाइते भएका छन् । 

यस्तै रुकुम पूर्व, दाङ, रोल्पालगायत लुम्बिनी प्रदेशका जिल्लाका सर्वसाधारणको भौतिक संरचनामा क्षति पुग्दा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भने यतिबेला विदेश घुमघाममा व्यस्त रहेका छन् । विपत्तिका बेला गम्भीर नभई मुख्यमन्त्री अमेरिका घुमघाममा व्यस्त रहेको भन्दै उनकै पार्टी नेपाली कांग्रेस र सत्ता साझेदार दल असन्तुष्ट बनेका छन् । 

कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री चौधरी भूकम्पको विपत्तिकै बीच आइतबार अमेरिका प्रस्थान गरेपछि उनको आलोचना भएको हो । उनले कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी धनबहादुर मास्कीलाई दिएपनि भूकम्पको बेला गर्नुपर्ने काम प्रभावकारी हुन नसकेको प्रदेशका सांसदहरू बताउँछन् । भूकम्पछि मुख्यम्नत्रीले आफ्नो भ्रमण स्थगित नगर्नुले राम्राे सन्देश नगएको सांसदहरुको भनाइ छ । 

‘प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीलाई मुख्यमन्त्रीको हैसियतले दैनिक प्रशासनिक कार्य सम्पादन गर्ने जिम्मेवारी तोकेपनि जति हुनुपर्ने हो त्यति प्रभावकारी हुन सकेको छैन’, एक सांसदले भने, ‘अन्य प्रदेशहरूले भूकम्प पीडितलाई राहतको घोषणा गर्दा आफ्नै प्रदेशका जिल्लावासीसमेत प्रभावित भएको लुम्बिनीले भने प्रभावकारी निर्णय गर्न सकेको छैन ।’

कांग्रेसकै एक सांसदले मुख्यमन्त्री सरकारी भ्रमण भन्दा पनि पारिवारिक उद्देश्यले अमेरिका गएको दाबी गरे । उनका छोरा अमेरिकामा रहेको र सोही मौकामा केही कार्यक्रममा पनि सहभागी हुनेगरी कार्यतालिका बनाइएको बताइएको छ । 

सोहीअनुसार उनी अमेरिकामा आयोजना हुने ‘द एसेम्बली स्टेट अफ न्यूयोर्क’ र ‘अलबेनिक ३० औँ डिस्ट्रिक्ट’ कार्यक्रममा सहभागी हुने बताइएको छ  ।

उनको अमेरिका भ्रमणको विषयमा प्रश्न उठिरहेको त छ नै सत्ता साझेदार दलले मुख्यमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर यसअघिदेखि नै असन्तुष्टि पोख्दै आएका छन् । 

लुम्बिनीमा चौधरी गत वैशाख १४ गते मुख्यमन्त्री भएका थिए । नेकपा माओवादी केन्द्रसहित ८ दलका ५२ जना र एकजना स्वतन्त्र सांसदको समर्थनमा  नियुक्त भएका उनले अझैसम्म मन्त्रीपरिषद्लाई पूर्णता दिन नसकेका हुन् ।

अहिले मन्त्रालय विभाजन गरेर माओवादी  र नेपाली कांग्रेसका मन्त्रीहरू थप्ने विषयमा प्रयास भएपनि विभिन्न बहानामा ७ महिनासम्म यसले मुर्तरुप पाउन सकेको छैन ।  माओवादी केन्द्र लुम्बिनीका एक नेताले मुख्यमन्त्रीका कारण अहिलेसम्म सरकारले पूर्णता पाउन नसकेको दाबी गरे । मुख्यमन्त्री प्रदेशमा कतिसम्म गैरजिम्मेवार छन् भन्ने विषय भूकम्पका बेला विदेश भ्रमणमा गएको घटनाले पनि पुष्टि हुने उनको दाबी छ । 

यता लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजयन तिमल्सेनाले मुख्यमन्त्री अमेरिका गएपनि त्यहाँको कार्यक्रमबारे आफूलाई विस्तृतमा थाहा नभएको दाबी गरे । तर, भूकम्पको बेला मुख्यमन्त्री अमेरिका नगएको भए राम्रो सन्देश जान्थ्यो भन्ने विषयमा सहमत रहेको उनले धारणा राखे । 

यस विषयमा मुख्यमन्त्रीको सचिवालयले भने पूर्वनिर्धारित कार्यक्रम भएकाले उनी अमेरिका गएको तर्क गरेको छ ।  मुख्यमन्त्रीको अनुपस्थितिमा पनि प्रदेशका तर्फबाट उद्धार र राहतका सन्दर्भमा आवश्यक कार्य भइरहेको सचिवालयको भनाइ छ । 

सचिवालयका अनुसार प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णय भइसकेको छ । यस्तै प्रदेशले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउनुका साथै प्रभावित क्षेत्रका लागि डेढ करोड निकासा गर्नेगरी मन्त्रिपरिषद्बाट निर्णय पनि भएको छ । चौधरी कात्तिक २६ गते स्वदेश फर्कने बताइएको छ । 

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा धेरै क्षति भएको छ । सो भूकम्पबाट दुई जिल्लामा १५३ जनाको मृत्यु हुँदा लुम्बिनी प्रदेशमा पनि भौतिक क्षति भएको हो । विपद्को यो घडीमा छिमेकी प्रदेशसमेत भएकाले लुम्बिनीको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरुको भनाइ छ । रातोपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com