Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

कैलालीका विभिन्न ठाउँ डुबानमा, झण्डै ३ हजार ४ सय घरधुरी प्रभावित

कैलाली – वर्षासँगै कैलाली जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेकाे छ । डुबानका कारण दक्षिणपूर्वी क्षेत्रका झण्डै तीन हजार चार सय घरधुरी प्रभावित भएका छन् ।

डुबानका कारण धेरै परिवार विस्थापित भएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । प्रभावितलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरी सुरक्षित ठाउँमा सारेको छ । जिल्लाको भजनी, जोशीपुर, कैलारी, जानकीनगर क्षेत्र डुबानबाट बढी प्रभावित भएको छ ।

घरभित्र पानीपस्दा खाद्यान्न र अन्य धनमाल भिजेर क्षति पुगेको छ । डुबानको जोखिमा रहेकाहरुलाई ‘मोटर बोड’को प्रयोग गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेकाे छ । 

वर्षासँगै मोहना, खुटिया, पथरैया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडा नदीमा पानीको बहाव बढेको छ । बुधवार हिजाे प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको नेतृत्वको एक टोलीले डुबान प्रभावित क्षेत्रको अवलोकन गरी डुबानबाट पुगेको क्षतिबारे जानकारी लिएको छ ।

बर्सेनि नदीको सतहमा गेग्रान, माटो, ढुङ्गा, बालुवाले सतह पुरिँदै जाँदा नदी तथा खोलाको सतह बढेर डुबानको समस्या बढ्दै गएको स्थानीयको भनाइ छ । डुबानको समस्या बर्सेनि बढ्दै जाँदा दशकौँअघिदेखिका कतिपय पुराना बस्तीनै स्थानान्तरण गर्नुपर्ने देखिएको छ । 

नदीको बहाव बढेर हुने कटानले कतिपय ठाउँको हुलाकी राजमार्ग र अन्य सडकसमेत कटान हुने गरेको छ । वर्षासँगै गएको पहिरोले धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गमा यातायात आवागमन सोमवार रातिदेखि अवरुद्ध छ । पहिरोले राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका सात पहाडी जिल्ला आवागमन गर्ने यात्रु र मालवाहक गाडीबीच बाटोमै रोखिएर अलपत्र छन् । यो राजमार्गको बूढीतोला खानीडाँडा सडक खण्ड भासिएको छ भने ठाउँठाउँमा पहिरो गएको छ । पहिरो पन्छाउने काम भइरहेको छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com