Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

सबै प्रदेशकाे नामकरण पहिचानकाे आधारमा हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशको नामकरण जातीय पहिचानको आधारमा हुनुपर्ने बताउनुभएको छ ।

विश्व आदिवासी दिवसको अवसरमा बुधवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पहिचानको आधारमा सबै प्रदेशको नामकरण गर्न अहिले पनि आफूले प्रयास गरिरहेको बताउनुभएको हो । कोशी प्रदेशमा घटेको घटनाक्रमले एउटा नयाँ चेतना पैदा भएको उल्लेख गर्दै उहाँले त्यसैको बलमा सबै प्रदेशलाई पहिचानसहितको नामकरण गर्न सकिने विश्वाससमेत व्यक्त गर्नुभयो । तत्काल यदि त्यसो हुन नसके आउँदाे २०८४ सालको चुनावमा पहिचानका पक्षधरहरूलाई मत दिएर जिताए संसदबाटै सबै प्रदेशको नामकरण पहिचानसहितको हुने उहाँले आश्वासन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कोशी प्रदेश नामकरण भइसकेपछि चलिरहेकाे आन्दोलनको सन्दर्भमा आदिवासी, जनजातिलगायत विभिन्न सङ्–संस्थाका प्रतिनिधिले बालुवाटारमा आएर मलाई भेट्नुभएको थियो । पहिचान र अधिकारको नेता हुनुको नाताले मैले आदिवासी, जनजातिको पक्षमा निर्णय गर्नुपर्छ भन्ने दायित्व मलाई अवगत छ । अहिले पनि तपाईँहरूको जो चिन्ता छ, चासो छ । पहिचानको होस् भन्नेमा । सिद्धान्ततः हामी सबैसँगै छौँ । र यो छलफल चलिराखेको पनि छ । अब यही प्रयासबाट तपाईँहरूले भनेजस्तो गरी पहिचान आउने भए त त्यो त धेरै राम्रो भयो । मेरो प्रयास त्यतैपट्टि हुनेछ । भएन भने अघि शेर्पाजीले भनेको जस्तै २०८४ मा पहिचानका पक्षधरलाई तपाईँहरूले टन्नै मत हालिदिनु भयो भने सदनबाट नै त्यही पारित हुन्छ । मलाई विश्वास छ– काेशी प्रदेश नामकरणकाे घटनाक्रमले एउटा नयाँ चेतना हामी सबैमा पैदा भएको छ । र त्यो चेतनाको बलमा हामीले पहिचानसहितका प्रदेशहरूको नामकरण गर्न सकिनेछ । त्यसको निम्ति पनि गम्भीररूपले विचार गर्न म तपाईँहरूसँग अपिल गर्न चाहन्छु ।’

प्रधानमन्त्री प्रचण्डले आफूले दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि आदिवासी, जनजाति र मधेसी समुदायको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन प्रस्ताव संसदमा दुई पटक दर्ता गराए पनि नेकपा एमालेका कारण पारित हुन नसकेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्रीले कुनैपनि जाति, भाषा र संस्कृतिमाथि अपमानित हुने भाषा प्रयोग गरिए त्यो सह्य नहुने चेतावनीसमेत दिनुभयो । अधिवक्ता भगवती पाण्डेले जनजातिहरूमाथि अपमानित हुने भाषा प्रयोग गरेकाले सरकारले उहाँमाथि कारबाही प्रक्रिया अघि बढाएको समेत उहाँले बताउनुभयाे । प्रचण्डले राष्ट्र निर्माणमा निर्णायक भूमिका निर्वाह गर्दै आएको भन्दै आदिवासी जनजातिहरूको प्रशंसा पनि गर्नुभयो । उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com